• ३ वैशाख २०८२, बुधबार

बच्चा कोरल्न नेपाल आइपुगे कोइलीदेखि स्वर्गचरीसम्म

blog

कैलालीको हसुलियामा देखिएका स्वर्गचरी । तस्बिर : कुलराज चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख १ गते । बसन्त ऋतुसँगै कोइलीको कुहुकुहु सुमधुर गीत गुञ्जिँदै छ । काफल पाक्यो आवाजले जङ्गलको मनोरम दृश्यमा अझ सुगन्ध थपिरहेको छ । हिउँदमा नसुनिएको चराका यस्ता आवाज गर्मी सुरु भएसँगै सुनिन थालेको हो ।

हिउँदे आगन्तुक चरा रमाएर फर्केको बेला गर्मीयाममा रमाउने पाहुना चरा नेपाल आइपुगेका छन् । बच्चा कोरल्नका लागि विभिन्न प्रजातिका चरा नेपाल आइपुगेका हुन् । जसमा कोइली प्रजातिदेखि लिएर स्वर्गचरीसम्म रहेका छन् । हिउँदे आगन्तुक चरा सिमसारमा रमाउँदा गर्मी सिजनमा आउने पाहुना चरा भने गाउँघर र वन क्षेत्रमा रमाउने गर्दछन् । 

दक्षिणतिरबाट नेपाल आउने गर्मी सिजनको आगन्तुक चरामध्ये निकै आकर्षक स्वर्गचरीले गाउँघरमै पुगेर बच्चा कोरल्ने र हुर्काउने गरेका चराप्रेमीहरुको भनाइ छ । यसैगरी, कोइली प्रजातिका कोहो कोइली, जुरे कोइली, ठुलो जुरे कोइली, बिउकुहियो, पपिहा कोइली, काफल पाक्यो, कुक्कु कोइली, पूर्वी कोइली, सानो कोइली, फुस्रो सानो कोइली र हरित कोइलीले वन क्षेत्रमा बच्चा कोरल्ने गरेका जनाइएको छ । 

गर्मी मौसमका आगन्तुक चरा गाउँघरतिर देखा पर्न थालेको वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीले बताउनुभयो । “बर्सेनि गाउँघरमै बाँस लगायत अन्य रुख बोटविरुवामा स्वर्गचरीले गुँड लगाएर बच्चा कोरल्ने गरेका छन्”, चौधरीले भन्नुभयो । 

मार्चमा नेपाल आएका गर्मी सिजनका आगन्तुक चराहरु छ महिनासम्म नेपालमा रमाउने र बच्चा हुर्काएर फर्कने गरेका जनाइएको छ । अगस्टतिर यस्ता चराहरु बच्चा हुर्काएर फर्कने गरेको चराविद् हिरुलाल डङ्गौराको भनाइ छ । उहाँका अनुसार गर्मी सिजनका चराहरु दक्षिण भारत, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का, दक्षिण अफ्रिका लगायतबाट नेपाल आउने गर्दछन् । 

“यो बेला यी देशहरुमा गर्मी अत्यधिक बढ्छ”, डङ्गौराले भन्नुभयो, “उता अत्यधिक गर्मी बढ्ने र नेपालको वातावरण अनुकूल रहेका कारण विभिन्न प्रजातिका चरा बच्चा कोरल्न नेपाल आउँछन् ।”

मुरली प्रजातिका निलपुच्छ्रे मुरली, कटुस टाउके मुरली, सेतोकण्ठे गौथली, गाजले चरी, घाँसे घाँसचरी, निलो रबिन, चित्रक पिट्टा, गाजले पिट्टा लगायतका चरा पनि नेपाल आइपुगेका छन् । यस्ता चराहरु नेपालको तराईदेखि मध्य पहाडसम्म पुग्ने गरेको जनाइएको छ । 

गर्मी मौसमको आगन्तुक चराका आगमनले रौनक बढेको नेचरगाइड सुवन चौधरीको भनाइ छ । उहाँले कञ्चनपुरको सामुदायिक वन क्षेत्रहरुमा स्वर्गचरी लगायत कोइली प्रजातिको उपस्थिति बढेको बताउनुभयो । “चरा अवलोकन गर्न जाँदा अचेल सधैं स्वर्गचरी लगायतका आगन्तुक चरा फेला परिरहेका छन्”, चौधरीले भन्नुभयो ।