पाँचथर, वैशाख २ गते । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो ।
प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य सामग्रीसहित स्थानीय उत्पादनका परिकार । गोठहरूमै बसोबासको प्रबन्ध तर पनि महोत्सव सुरु नहुँदै पर्यटकको उल्लेख्य उपस्थिति । चैत ३१ गतेदेखि सुरु भएको महोत्सवको झलक थियो यो ।
उच्च पहाड भए पनि फालेलुङको चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटक पुगेका थिए । पर्यटक चौँरीसँग तस्बिर र भिडिओ खिच्न, सामुन्नेमा देखिने हिमालको दृश्यावलोकन गर्न तथा शान्त र स्निग्ध प्रकृतिमा रमाउन व्यस्त थिए । चारराते क्षेत्रमा सयौँ चौँरी हिँडडुल र चरिचरनका क्रममा बज्ने घण्टीको आवाजले वातावरणलाई थप रोमाञ्चक बनाएको थियो । त्यसैमा रमाइरहेका थिए पर्यटक ।
गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा आयोजना गरेको महोत्सवमा फालेलुङ र याङवरक गाउँपालिकाबाट पाँच सयभन्दा बढी चौँरी प्रदर्शनका लागि ल्याइएका थिए । महोत्सवमा चौँरीजन्य सामग्री, स्थानीय उत्पादनको प्रदर्शनी, याक र घोडा चढेर रमाइलो गर्ने व्यवस्था गरिएकाले पर्यटकहरू भरपूर मनोरञ्जन लिएका आयोजनाले जनाएको छ ।
लोपोन्मुख अवस्थामा रहेको चौँरी र चौँरीपालन संस्कृति जगेर्ना, चौँरीजन्य सामग्रीको बजारीकरणमा सघाउ, चौँरीपालनलाई दिगो र व्यवस्थित गर्न बर्सेनि महोत्सव आयोजना गरिँदै आइएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो । चौँरी पर्यटन महोत्सवको आयोजना हुन थालेपछि देशविदेशबाट यस क्षेत्रमा पर्यटक आउने क्रम बढेको र यसले चौँरीपालकको अर्थोपार्जनमा सहयोग पुगेको उहाँको भनाइ छ । “अहिले चौँरीपालनका अतिरिक्त गोठमै पर्यटकलाई होटल सेवा सिन दिइरहनुभएको छ । यसले रोजगारीका अवसर सिर्जना र आयआर्जनमा वृद्धि गरेको छ”, थाम्सुहाङले भन्नुभयो । महोत्सवले जैविक विविधता, पर्यावरण संरक्षणमा टेवा पुगेका कारण फालेलुङ गाउँपालिकाले यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार चौँरी महोत्सवको आयोजनापछि पाँचथरका फालेलुङ र याङवरक गाउँपालिकामा रहेका चौँरी गोठबाट उत्पादित सामग्रीले बजार पाएका छन् । महोत्सव हुन थालेपछि चौँरीबाट उत्पादित छुर्पी, घ्यू र चिजको माग धान्नै गाह्रो भएको उहाँले बताउनुभयो ।
नेपालका अनुसार चौँरीपालकले नेपाल—भारत सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेका गोठबाट गोठबास ९गोठ–स्टे० सेवा दिइरहेका छन् । यसमा विशेषगरी भारतीय पर्यटकहरू बढी आउने गरेका छन् । गोठस्टेका कारण पर्यटन विकास र पर्यटनमा आधारित रोजगारीमा वृद्धि भएको अर्का अगुवा चौँरीपालक शिल्पकुमार राइले बताउनुभयो ।
यसअघि, महोत्सव उद्घाटनका लागि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावतीसहित पाहुना चारराते पुग्नुभएको थियो । कार्यक्रममा मन्त्री मण्डलले चौँरीजन्य संस्कृतिको जगेर्ना तथा जैविक विविधताको संरक्षण गरी यसैमा आधारित पर्यटन विकासमा जोड दिनुभयो । यहाँका चौँरीपालकले संस्कृति, परम्परा, वातावरण र जैविक विविधताको संरक्षणमार्फत पर्यटकलाई आकर्षित गरी आयआर्जनमा टेवा पुगेको भन्दै उहाँले यसमा कोशी प्रदेश सरकारले थप लगानी गर्ने बताउनुभयो ।
चौँरी पर्यटन महोत्सवमा भारतको सिक्किमका कलाकारले दुर्लभ मानिने याक नृत्य प्रस्तुत गरेका थिए । यस्तै, पाँचथर र ताप्लेजुङका चौँरीपालक कृषकको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवकै अवसरमा कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारसमेत गरिएको थियो ।
महोत्सवमा भारतका पूर्वी क्षेत्रका सयौँ पर्यटक आएका थिए । पश्चिम बङ्गालको दार्जिलिङबाट आएका पर्यटक सुशील क्षेत्रीले चौँरीबारे बुझ्न र उच्च पहाडको आनन्द लिन महोत्सवमा आएको वताउनुभयो । “यहाँ प्रकृति र संस्कृतिले साँच्चै आनन्द आउने रहेछ”, उहाँले भन्नुभयो । रासस