• ३ वैशाख २०८२, बुधबार

सुतिरहेको मजदुर मृत फेला

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख २ गते। गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो।

प्रहरी नायब उपरीक्षक सारुका अनुसार खड्का रोल्पा लुङग्री गाउँपालिका –२ का बासिन्दा हुन्। उहाँ विगत केही समयदेखि ढोरपाटन सडकखण्डमा मजदुरी गर्दै आउनुभएको थियो । मृतक खड्का स्थानीय पुस्कर थापाको घरमा भाडामा बस्दै आउनुभएको थियो । नयाँ वर्ष अर्थात् वैशाख १ गते साँझ सुतेका खड्का मंगलबार विहान ६ बजे उठेपछि पुनः सुतेको स्थानीयको भनाइ छ । 

उहाँसँगै ढोरपाटन सडकखण्डमा १३ जना मजदुरहरूले काम गर्थे। बिहानको काम सकेर खाना खान फर्किंदा शिवरामलाई उठाउन खोज्दा उहाँ सुतिरहेको अवस्थामा मृत फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय पुर्कोट दहमा खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक जयप्रकाश मिश्रको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुको नेतृत्वमा ६ जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृतक खड्कालाई पोष्टमार्टमका लागि जिल्लाको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याइएको छ। हाल मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।