• ३ असार २०८२, मङ्गलबार

हिरासतमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान

blog

पुस्तकहरू प्रदान गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), असार ३ गते । कालीगण्डकी फाउन्डेसन नेपालले प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षका लागि १५० थान पुस्तक प्रदान गरेको हो । 

विभिन्न मुद्दामा हिरासतमा राखिने थुनुवा बन्दीलाई लक्षित गरी स्थापना गर्न लागिएको पुस्तकालयका लागि मङ्गलबार पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण गर्दै कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहाकार सन्दिप रानाले पुस्तकले हिरासतमा आउने व्यक्तिहरूलाई सजाय भन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो । पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीसँगै आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्‍याउने बताउनुभयो । 

रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले पुस्तकले व्यक्तिको जीवन परिवर्तनसँगै समाज रूपान्तरणमा महत्त्वपूर्ण टेवा दिने बताउनुभयो । कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले हिरासतमा आउने व्यक्तिहरूलाई पुस्तकमा रमाउन र नैरास्यता हटाएर सकारात्मक सोच सहित अघि बढ्न उत्प्रेरणा प्रदानका लागि पुस्तक प्रदान गरिएको बताउनुभयो । पुस्तकालयमा प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर नेपालीले शिक्षा बाट नै समाज परिवर्तन हुन्छ भन्ने मान्यतालाई अनुसरण गर्दै हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । समाजसेवी दुर्गादेवी रानाले हिरासतमा आउने व्यक्तिहरू डिप्रेसनमा समेत जान सक्ने भएकाले पुस्तकले ठुलो राहत प्रदान गर्ने बताउनुभयो । 

रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ र शहीद बहुमुखी क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिनेमा जोड दिनुभयो ।