चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २ गते। गीतकार टङ्क भट्टराईको ‘ओलाङ्चुङगोला‘ गीतको भिडियो सार्वजनिक भएको छ। ताप्लेजुङको एक पर्यटकीय गन्तव्य ओलाङ्चुङगोला क्षेत्रको परिवेश र चिनारीलाई समेटेर तयार पारिएको गीतको भिडियो (श्रव्यदृश्य) सार्वजनिक भएको हो।
गीतकार भट्टराईले ओलाङ्चुङगोला, घुमौ न एकफेर भोलि के होला बोलको गीतमा गोला क्षेत्रमा रहेका पर्यटकीयस्थल दिकी छ्योलिङ गुम्बा, सिँजेमा ताल, मौवाटार, टिपताला, याङ्माहरु शब्दमा समेट्नुभएको छ। गीत सङ्गीतको माध्यममार्फत यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सहयोग गर्नेगरी तयार पारिएको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ।
कलाकार निरोज लामा, बेनिशा पौडेल र इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ओलाङ्चुङगोलाको भिडियोमा पेम्बा ओङ्दी शेर्पा र मारियम सिवाको अभियन रहेको छ भने निर्देशकको भूमिकामा हर्कराज गुरुङ हुनुहुन्छ।
पाथीभरा क्रिएसन हाउस प्रालिले उत्पादन गरेको गीतको भिडियोमा ओलाङ्चुङगोला क्षेत्रका पर्यटकीयस्थल तथा सुन्दर दृश्यहरु छायाङ्कन गरिएका छन्। पर्यटकीय क्षेत्रको उजागरसँगै एक युवक र युवतीबिचको माया प्रेम भिडियोको कथामा देखाइएको छ।
भिडियो अर्थात गीतको श्रव्यदृश्य कथा भवसागर इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो। ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रहनुभएका गीतकार भट्टराईले ताप्लेजुङमा रहँदा ओलाङ्चुङगोलासहित ताप्लेजुङको शिरैमा सेतो जुहार र दिलमायाको चिया दोकानमा बोलको तीन वटा गीत लेख्नुभएको छ। ताप्लेजुङको सेरोफेरोलाई गीति शब्द बनाइएका यसअघिका दुईवटा गीतको समेत भिडियो निर्माण गरी सार्वजनिक गरिएका छन्।