काठमाडौँ, वैशाख २ गते । ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा प्रहरीले १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ । गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले दुर्गाको हत्या गरेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पिआरसिबी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधी र प्रविधिको प्रहरी गरी अनुसन्धान गर्ने क्रममा सो घटनामा मृतककै कान्छो दाईले हत्या गरेको खुल्न आएको उहाँको भनाइ छ ।
ललितपुर महानगरपालिका–१२ मङ्गलबजारबाट मृकका दाइलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।
गत चैत २९ गते खपिन्छेँ टोलको घरको भुँइ तलामा रहेको प्रयोगविहीन सिमेन्टको ट्याङ्कीभित्र दुर्गाको शव फेला परेको थियो ।
अनुसन्धान गर्ने प्रहरी अधिकृतका अनुसार घटना चैत ४ गते भएको देखिन्छ ।
दाजुबहिनीले लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको दाजुले प्रहरीसमक्ष बताएका थिए ।