सुनवल समाचारदाता
सुनवल (नवलपरासी), वैशाख २ गते । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११, धुर्कोट बस्ने ४७ वर्षीय जिउती बाह्रघरे घरमा बिजुली पुगेपछि दङ्ग हुनुभएको छ । हरेक चुनावमा गाउँमा पुग्ने नेताले बिजुली बालिदिने आश्वासन दिए पनि चुनाव सकिएसँगै ती आश्वासन पनि सकिन्थे । जताततै बिजुली बलेको देखेपछि घरका नाति नातिनाले आफ्नो गाउँमा कहिले बिजुली आउँछ भनेर सोध्थे । उहाँलाई जवाफ दिनै हैरान हुन्थ्यो । सामान्य मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । करिब १६ किलोमिटर टाढा भुमही बजार झरेर मोबाइल चार्ज गर्न जाँदा पैसा दिनु परेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “अहिले विद्युत् घरमा आउँदा सपना हो कि विपना हो भन्ने लागिरहेको छ ।”
जिउती बाह्रघरे मात्र होइन सुनवल नगरपालिका–११ स्थित अति विकट गाउँ मानिने धुर्कोट, बेहोरा, मिजा दमार, ओडार खोला गरी चार गाउँका लगभग ३० घरका बासिन्दा यतिबेला बिजुली पुगेपछि दङ्ग छन् । धुर्कोटका ६५ वर्षीय यमबहादुर बाह्रघरे भन्नुहुन्छ, “हाम्रो छ पुस्ताले बिजुली कस्तो हुन्छ भन्ने महसुस नै गर्न पाएनन् । हाम्रा छोराछोरी नातिनातिना उज्यालोको खोजीमा गाउँ छाडेर गए ।” विद्युत् नहुँदा कुटानीपिसानी गर्न धेरै समस्या हुने गरेको उहाँको अनुभव छ । “धान, तोरी, कोदो, मकै पिसाउन दुई दिन लगाएर बजार जान्थ्यौँ, उतै बास बसेर मिलमा कुटेर फेरि दुई दिन लगाएर घर फर्कन्थ्यौँ,” उहाँले भन्नुभयो ।
उता सात वर्षदेखि सो ठाउँ छोडेर जानुभएका ओडारखोलाका ५५ वर्षका टेकबहादुर आलेले विद्युत् आएसँगै आफ्नै गाउँ फर्कने सोच बनाउनुभएको छ । उहाँले भन्नुभयो, “अब आफ्नै गाउँ फर्केर कागती र सुन्तला खेती गर्छु । सफल उद्यमी बनेर उत्पादन गरेका वस्तुलाई बजार लगेर बेच्छु ।” त्यति मात्र नभएर आफू जस्तै बसाइँसराइ गरी गएका अन्य साथीलाई गाउँ फर्काउने उहाँको चाहना छ । नेपाल सरकारको पूर्ण विद्युतीकरणको परिकल्पना अनुरूप उज्यालो सुनवल बनाउने लक्ष्यसहित पूर्ण विद्युतीकरण गर्ने अभियानलाई अगाडि बढाइएको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले बताउनुभयो । उहाँले त्यसका लागि बर्दघाट वितरण केन्द्रसँग समन्वय र सहकार्यमा पूर्ण विद्युतीकरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले पूर्ण विद्युतीकरणका लागि कुल तीन करोड ३० लाख बजेट खर्च भएको बताउनुभयो ।
हालसम्म ५० हजार ९३२ घरधुरीमा विद्युतीकरण पुग्नुको साथै नवलपरासी पश्चिम पूर्ण विद्युतीकरण भएकोे नेपाल विद्युत् प्राधिकरण परासीका प्रमुख सुरज रेग्मीले बताउनुभयो ।तस्बिर : कल्पना खरेल