रमेश विश्वकर्मा
गुल्मी, वैशाख २ गते। लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान जारी रहेको हो। यसै सन्दर्भमा मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न स्पष्ट निर्देशन दिनुभएको छ।
शिक्षा सबैको मौलिक हक भएकाले एक जना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू छ।
अघिल्लो बर्षको शैक्षिक तथ्याङ्क अनुसार प्रारम्भिक बालविकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत रहेको छ भने प्रारम्भिक बालविकास शिक्षामा खुद भर्ना दर ७०.६ प्रतिशत रहेको छकक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ। आधारभूत तह (कक्षा १.८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह (९–१०० मा खुद भर्ना दर ७६.५ रहेको छ। माध्यमिक तह (११–१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत रहेको छ। यस्तै माध्यमिक तह (९–१२) मा खुद भर्नादर ५७.९ रहेको थियो।
मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुनेगरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताउनुभएको छ।