म्यानमार, चैत २९ गते । नेपाल सरकारले म्यान्मारका भूकम्पपीडितलाई खाद्यान्नसहितको राहत सामग्री सहयोग गरेको छ । परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा प्राधिकरणका उच्च अधिकारीसहित बुधबार म्यान्मार गएको टोलीले म्यान्मारको परराष्ट्र मन्त्रालयलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
यही चैत १५ गते बिहान ६:२१ बजे म्यानमारको राजधानी नोपिडको पूर्वशाही राजधानी सहर मन्डलेलाई केन्द्रविन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपीडितलाई राहतस्वरूप एक करोड ४० लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले म्यानमारमा हालै गएको भूकम्पपीडितलाई डेढ करोड रुपियाँ बराबरको २७ टन खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । नेपाल सरकार र निजी क्षेत्रसँग पहल गरेर खाद्यान्न, औषधी, लत्ताकपडा, सर्जिकल सामग्री, त्रिपाललगायतका सामग्री नेपाली राजदूतावासमार्फत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपालले भूकम्पपीडितलाई सहयोगस्वरूप दाल, चामल, लिटो, स्लिपिङ ब्याग, चना, चिउरा, दालमोठ, साबुन, टुथपेस्ट, बिस्कुट चाउचाउ, झुल, भान्साका सामान, भाँडावर्तन, सेनेटरी प्याडलगायत सामग्री दिइएको छ ।
यसअघि २०७२ सालमा नेपालमा गएको भूकम्पको बेला म्यानमार सरकारले नेपाललाई खाद्यान्न सामग्री सहयोग गरेको थियो ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द घिमिरेले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या करिब तीन हजार छ जना पुगेको जानकारी दिनुभयो । हालसम्म ५० वटा घर, ७० वटा पुल भूकम्पबाट क्षति भएको आँकडा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
नेपाली भाषी म्यानमारका बासिन्दा १८ जनाको मृत्यु भएको र १५ जना हराइरहेको समेत उहाँले जानकारी दिनुभयो । म्यानमारमा एक लाख ५० हजार जना नेपाली भाषी रहेको उहाँले जानकारी दिनुभयो ।
म्यानमारको याङ्गुनमा ५० जना जति नेपाली नागरिक रहेको तर भूकम्पले ठुलो असर नपरेको दूतावासले जनाएको छ । सो भूकम्पमा परी झन्डै १० हजार जना घाइते भएको दूतावासले जनाएको छ ।
भूकम्पमा परी घाइते भएकालाई नेपाली विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीले उपचार गरिरहेको समेत दूतावासले जनाएको छ । भूकम्पले झन्डै पाँच करोड मानिस बसोवास गर्ने म्यानमारको अधिकांश भागलाई प्रभावित पारेको छ ।
राजधानी नोपिडसहित अन्य छ क्षेत्र र राज्यमा उल्लेखनीय क्षति पुगेको दूतावासले जनाएको छ । करिब १५ लाख मानिस बसोवास गर्ने मन्डलेनजिक भूकम्पको केन्द्रविन्दु रहेका कारण बौद्ध गुम्बा, अस्पताल प्राचीन दरबार, घर, कार्यालय, मस्जिदमा ठुलो क्षति पुगेको जनाइएको छ ।
राहत सामग्री लिएर परराष्ट्र मन्त्रालयको दक्षिणपश्चिम डिभिजन प्रमुख तापस अधिकारीसहितको १६ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार बिहान ३ बजे म्यान्मार पुगेको थियो । राहत सामग्री लिएर गएको नेपाल वायुसेवा निगमको चार्टर विमान बिहीबार बिहानै फर्किएको छ ।