अमरराज नहर्की
तनहुुँ, चैत २८ गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा र भानु–घाँसी स्मारक पार्क पुनर्निर्माणको माग गरिएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारको क्रममा भत्किएको कुवा र पार्क गण्डकी प्रज्ञा प्रतिष्ठानद्धारा पुनर्निर्माणको माग गरिएको हो ।
भर्जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन आज यस्तो ।
यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचना गरिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र त्यही घाँसीबाट प्रेरणा पाई यस्तो कविता रचना गर्नुभएको थियो भन्ने प्रसंग रहेको छ । त्यसकारण पनि उक्त कुवाको संरक्षण आवश्यक छ । पार्क र शालिकको पुनर्निर्माणको माग गरेको छ । सडक विस्तार गर्दा भानु–घाँसी स्मारक पार्क हटाउनु पर्ने अवस्था आएको हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयले राख्दै आएका थिए ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का विर्खचीले चैत २७ गते जारी गर्नु विज्ञप्तिमा तुरुन्त पुनर्निर्माणको माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “देशभक्ति, मौलिकता र सुधारवादी चेतना छर्ने आदिकवि भानुभक्त आचार्यको नाउँमा निर्माण गरिएको कुवा, सालिक र भानुपार्क यथाशीघ्र पुनर्निर्माणका गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।”
नेपाली साहित्यको प्राथमिक कालका महान् कवि भानुभक्त आचार्यले नेपाली भाषालाई सरल, सहज, सरस र शुद्ध तुल्याई भाषालाई समृद्ध बनाई भाषाका माध्यमबाट नेपालको ऐकिरणमा बल पु¥याएकाले भानुलाई नेपालको राष्ट्रिय विभूति मानिएको स्मरण गर्दै विज्ञप्तिमा पृथ्वी राजमार्गको छेउ घांसीकुवामा धेरै समय अघि निर्मित भएको अर्धकदको सालिक र भानुपार्कले गर्दा त्यो ठाउँ घांसीकुवा र साहित्यिक पार्कका नामले विकसित भई चम्किरहेको स्मरण गरिएको छ ।
अहिले सडक फराकिलो बनाउने क्रममा विगत केही समयदेखि त्यो पार्क भत्काइएको र सालिक हटाएको हुनाले अन्धकार बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ ।
व्यास नगर पालिकाका प्रमुख न्यौपानेले न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेकोले घाँसीकुवाको संरक्षण गरिने बताउनुभयो । हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्यलाई स्थापित गर्न लागिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयोे ।
घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले घुम्न आउने पर्यटक भत्किएको कुवा देखेर निराश हुने गरेको बताउनुभयो । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ ।
कुवा नरहे भानुभक्तको पहिचानलाई असर पर्ने हुँदा पुनर्निर्माणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका सल्लाहकार श्रीराम कार्की अचुकले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘‘तुुरुन्त पुनर्निर्माण गरिनु पर्दछ, इतिहासको जर्गेना गरिनु पर्दछ ।” मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुनर्निर्माणको काम अघि बढेको बताउनभयो । भानु–घाँसी स्मारक पार्क संरक्षण समितिले कस्तो बनाउने भनेर अध्ययन गरिरहेकोले ढिलाई भएको बताउनुभयो ।