• १३ साउन २०८१, आइतबार

मन्त्री हेरफेरको जिम्मा शीर्ष नेतालाई

blog

काठमाडौं, जेठ २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । शनिबारदेखि चलिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ६ महिना भनेर पठाएकाले शीर्ष नेताहरूबीच छलफल गरेर निर्णय लिने पार्टीका उपमहासचिव गङ्गालाल तुलाधारले बताउनुभयो ।

सरकारमा पार्टीका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ हुनुहुन्छ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्वतयारीका लागि तीनै तहका सरकार र सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

यसवर्ष पनि अघिल्लो वर्षझै अधिक वर्षा हुने मौसमविद्को पूर्वअनुमानलाई ख्याल राख्दै बाढीपहिरो र मौसमका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्नुपर्ने उपमहासचिव तुलाधरले बताउनुभयो । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पार्टीको सम्पूर्ण शक्ति विपद् प्रतिकार्यमा परिचालित हुने बैठकले निर्णय गरेको छ । बैठकले वातावरण जोगाउन सचेतना फैलाउनु पर्नेमा जोड दिँदै सबै पक्षलाई सोसम्बन्धी कार्यमा लाग्नसमेत आग्रह गरेको छ ।