नवौँ स्वास्थ्य बिमा दिवस आज देशभरि मनाइँदै छ । २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट प्रारम्भ भएकाले हरेक वर्ष यो दिन स्वास्थ्य बिमा दिवस मनाउने गरिन्छ । विगत झैँ यस वर्ष नवौँ स्वास्थ्य बिमा दिवस स्वास्थ्य बिमा बोर्ड एवं प्रदेश शाखा कार्यालय तथा जिल्ला सम्पर्क शाखा कार्यालयले नयाँ उत्साहपूर्वक ‘सबै नागरिकको स्वास्थ्य बिमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ मनाइँदै छ ।
स्वास्थ्य बिमा अर्थात् गरिब, पीडित, वञ्चित, अपाङ्गता, अति गरिब एवं सङ्क्रामक रोगबाट प्रताडितहरूसँगै समग्र नागरिकको साथि एवं सहयोगी हुनुका साथै आर्थिक पक्षको अभिभावकसमेतको भूमिका निर्वाह गर्दै आएको छ । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमाको मुख्य उद्देश्य भनेको विशिष्ट गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबै नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो । आकस्मिक, अनायास, अप्रत्याशित रूपले रोगको कारणले अचानक आइपर्ने आर्थिक भारलाई पूर्वभुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बिमा हो, जुन नेपाली नागरिकका लागि वरदान साबित भएको छ । यो बृहत् सामाजिक साझेदारीको अवधारणा अनुरूप सरकारद्वारा ल्याइएको सर्वसाधारणको उपलब्धिमूलक कार्यक्रम हो । यस कार्यक्रममा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहनुका साथै स्वास्थ्य संस्थाहरूको सहभागिता रहेको छ ।
नेपाल सरकारको प्राथमिकता प्राप्त स्वास्थ्य बिमा कार्यक्रम हालसम्म सात प्रदेश, ७७ जिल्ला एवं ७५३ स्थानीय तह तथा करिब ४८० सेवाप्रदायक स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय ढङ्गले सञ्चालन भइसकेको छ । वर्तमान अवस्थामा करिब ९० लाख नागरिकको सहभागितासमेत यस कार्यक्रममा रहे तापनि स्वास्थ्य बिमा ऐन, २०७४ एवं स्वास्थ्य बिमा नियमावली, २०७५ को पूर्ण कार्यान्वयन भने हुन सकेको छैन । स्वास्थ्य बिमा कार्यक्रमको मुख्य रणनीति नै चेतनामूलक एवं घर दैलो कार्यक्रममार्फत नेपाली समुदायका प्रत्येक समूहलाई सक्रिय सहभागी गराउँदै एवं गरिब तथा न्यून आय भएका वर्गलाई योगदान रकममा विशेष आर्थिक संरक्षण गर्दै, सार्वजनिक तथा निजी सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गर्दै स्वास्थ्य बिमा नीति तथा कार्यक्रमलाई क्रमशः विस्तार गरी देशव्यापी रूपमा प्रत्येक नागरिकसम्म स्वास्थ्य बिमा कार्यक्रम पु¥याइँ प्रत्येक बिमितलाई गुणस्तरीय सेवा सुनिश्चित गर्नु रहेको छ ।
स्वास्थ्य बिमाका विभिन्न आधार रहे तापनि लक्ष्य अनुरूप स्वास्थ्य बिमामा सबै नागरिकको पहुँच सुनिश्चित हुन सकेको छैन । यसका पछाडि पनि विभिन्न प्राविधिक कारण रहेका छन् । ती कारण नै स्वास्थ्य बिमाको मुख्य समस्या हुन्, जुन समाधान नगरी नहुने विषय हुन पुगेको छ । खास गरी स्वास्थ्य बिमाको दिगो आम्दानी सुनिश्चित नहुनु, स्वास्थ्य बिमाको आफ्नो स्वास्थ्य संस्था नहुनु, स्वास्थ्य बिमा आफैँ स्थायित्व ग्रहण गर्न नसक्नु, स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूको भविष्य अन्योलमा भई स्थायित्वतर्फ हालसम्म जान नसक्नु, स्वास्थ्य बिमा कार्यालय काजको कर्मचारीमा निर्भर हुनु, स्वास्थ्य बिमा बोर्ड श्वेत निकाय कानुनमा उल्लेख भए पनि पूर्ण कार्यान्वयन नहुनुलगायतको कारणले स्वास्थ्य बिमा कार्यक्रमले चाहेको जति प्रगति गर्न सकेको छैन । तसर्थ सरकार स्वास्थ्य बिमा बोर्ड र सेवाप्रदायक स्वास्थ्य संस्थाहरूको ऐक्यबद्धता एवं सहकार्य अति आवश्यक हुनुका साथै स्वास्थ्य बिमा बोर्ड उपरोक्त समस्याबाट यथाशिघ्र मुक्त हुनुपर्ने देखिन्छ । स्वास्थ्य बिमा नाफा वा नोक्सानका लागि ल्याएको कार्यक्रम होइन यो त सर्वसाधारण जनताको सुलभ, गुणस्तरीय उपचारका लागि ल्याइएको
कार्यक्रम हो, ताकि रोगकै कारणले कुनै नागरिकको आर्थिक अभावमा ज्यान नजाओस् । यस कार्यक्रमले जुन गतिमा अन्य सरकारी संयन्त्रबाट सहयोग पाउनुपर्ने हो, त्यो गतिले सहयोग पाउन सकेको छैन । स्वास्थ्य बिमा पूर्ण रूपले सफल हुनुको अर्थ स्वास्थ्य संस्थाहरूमा जुन मनोमानी यत्रतत्र पाइन्छ । ती सबै मनमानी सरकारको निगरानीभित्र पर्न सक्ने डरले कतिपय स्वास्थ्य संस्था स्वास्थ्य बिमा असफल बनाउने प्रयासमा रहेको देखिन्छ । तसर्थ स्वास्थ्य बिमालाई जीवन्त राखी हरेक नागरिकको सेवा राज्यले स्वास्थ्य बिमाको माध्यमबाट समाधान गर्दै जानुको विकल्प छैन ।
स्वास्थ्य बिमा यस्तो सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो, जसको लाभ नागरिक प्रत्यक्ष रूपमा बिनाझन्झट उपयोग गरिरहेका छन् । यो विशुद्ध योगदानमा आधारित कार्यक्रम भएकाले हरेक नागरिकले स्वास्थ्य बिमा उपयोगको नाममा दुरुपयोग गर्नबाट बच्नु पर्छ । किनभने यो कार्यक्रम प्रत्यक्ष मानव स्वास्थ्यसँग सरोकार राख्छ । कतिपय सामाजिक संस्थाले दान दिने चलन रहेकाले स्वास्थ्य बिमालाई सहयोग स्वरूप दान दिँदा फरक नपर्ला । अन्य ठाउँमा दान दिनुभन्दा स्वास्थ्य बिमामा बिमित भई अनुदान दिनु राम्रो हुन्छ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा नागरिकले आफ्ना आधारभूत आवश्यकता आर्थिक अभावमा परिपूर्ति गर्न सक्नु नै चुनौती मानिन्छ । त्यही भएर रोगको कारणले भविष्यमा आइपर्ने अप्रत्याशित आर्थिक जोखिम कम गर्न एक मात्र बलियो आधार सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम हो ।
स्वास्थ्य बिमा गराउनुको अर्थ रोग पालेर बस्नु पर्दैन अर्थात् रोगको कारणले कसैले पनि अनायास ज्यान गुमाउनु पर्दैन । हरेक नागरिकको आधारभूत स्वास्थ्यको जिम्मा सरकारको सरोकार भए पनि स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवा नजिकको सूचीकृत अस्पतालमा आवश्यक सुविधासमेत सजिलै लिन सकिन्छ । स्वास्थ्य बिमामा बिमित भइसकेपछि बिमितको स्वास्थ्यको तोकेबमोजिमको रकमसम्मको उपचारको जिम्मा स्वास्थ्य बिमाले एक दशकदेखि बहन गर्दै आइरहेको छ । यसका साथसाथै सल्लाह सुझाव तथा गुनासो व्यवस्थापनका लागि स्वास्थ्य बिमा बोर्डले निःशुल्क हटलाइन सेवासमेतको व्यवस्था उपलब्ध गराएको छ ।
आर्थिक अभावले हाल रोगकै कारणले अधिकांश नागरिक ज्यान गुमाउन बाध्य हुनुका साथसाथै गरिबी तथा ऋणको जालमा फस्दै गइरहेको पाइन्छ । कुनै पनि नागरिक आर्थिक अभावको कारण ज्यान गुमाउन बाध्य हुनु नपरोस् भन्दै नेपाल सरकारले सामाजिक सुरक्षाको रूपमा स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । यो विशुद्ध सेवामुखी हुनुका साथै जनतामुखी कार्यक्रम रहेको छ, जसको लाभ बिनाकुनै भेदभाव नेपाली नागरिकले उपभोग गरिरहेका छन् । अहिले पनि अधिकांश नेपाली जटिल खालको रोग लागेमा सहरका ठुला अस्पतालमा शुल्क तिरेर उपचार गराउँछन्, जसका कारणले आर्थिक अभावको सिकार हुन सक्ने प्रबल सम्भावना रहन्छ । तसर्थ त्यसबाट सुरक्षित हुनका लागि स्वास्थ्य बिमा अनिवार्य गर्नुबाहेकको विकल्प रहेको देखिँदैन । स्वास्थ्य बिमालाई अनिवार्य गर्नु आजको आवश्यकता भइसकेको छ, किनभने सरकारले नागरिकको लागि गर्नुपर्ने कार्यमध्ये मुख्य कार्य अन्तर्गत स्वास्थ्य बिमा पर्न जान्छ । यसका साथै स्वास्थ्यका विभिन्न शीर्षकमा राज्यद्वारा दिइने सेवा सुविधा स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरी गुणस्तरीय तवरले एकद्वार प्रणाली लागु गरी बिमा कार्यक्रम सञ्चालन गरेमा अझै उपयोगी बनाउन सकिन्छ । स्वास्थ्य बिमा सबैको सरोकारको विषय हो ।