• ११ माघ २०८१, शुक्रबार

मेलम्ची आयोजनाकाे भविश्यबारे छलफल

blog

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका भविश्यका बारे स्थानीय तहसँग छलफल गर्दे । तस्विरः चित्र मिजार

सिन्धुपाल्चोक, जेठ २२ गते । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तहसँग खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका भविश्यबारे छलफल थालेको छ ।

मन्त्रालयले आयोजनाको दिगोपनका लागि प्रभावित स्थानीय तह हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र काभे्रको मन्डनदेउपुर नगरपालिकासँग छलफल गरेको छ । 

खानेपानी बिकास समिति खारेज हुदाँ आयोजनालाई साउनपछि कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रालयले स्थानीय तहसँग धारणा लिएको मेलम्ची नगरपालिकाका मेयर आइतबान तामाङले जानकारी दिनुभयो । स्थानीय सरकारको स्वामित्वमा रहने गरी संस्थामार्फत आयोजना सञ्चालन गरिनु पर्ने विषय समेत छलफलमा राखेको उहाँले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बिकास समिति स्वत खारेज हुने अबस्थामा आयोजना स्वत स्थानीय सरकारबाट सञ्चालन हुनपर्ने धारणा राख्नु भएको थियो । सरकारको पैसा स्थानीय सरकारमार्फत आयोजनामा कार्यान्वयन भएमा बढी बिश्वासनीय र प्रभावकारी हुनेमा उहाँले जोड दिनुभयो ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय सरकार आउनु अघि स्थानीय तहमा नेतृत्व गरेकै ब्यक्तिबाट पहलमा बनाइएको संस्था भएकाले स्थानीय सरकारसँग स्वीकृत लिई सामाजिक उत्थान कार्यक्रम मार्फत आयोजना सञ्चालनमा हुनु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो । मन्त्रालयका अधिकारीहरुले स्थानीय तहका जनप्रतिनिधिसँग आयोजनाको भविश्यबारे सुझाव संकलन गरेर आयोजना सञ्चालनमा ठोस कार्य बनाउने जानकारी दिएका छन् । 

Author

चित्र मिजार