• १९ असोज २०८१, शनिबार

यौन दुर्व्यवहार आरोपमा वार्डेन पक्राउ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । काठमाडौँ जोरपाटीस्थित सर्वनाम शिक्षालयका छात्रामाथि यौन दुर्व्यवहार  गरेको आरोपमा शिक्षालयका वार्डेन रामजी बस्नेतलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । पक्राउ परेका बस्नेतलाई काठमाडौँ ल्याइँदै छ ।बस्नेतले यौन दुर्व्यवहार  गरेको जानकारी गराउँदा पनि सुनुवाइ नगरेको भन्दै  शिक्षालयमा प्रदर्शन भएपछि प्रहरीले शिक्षालयका प्रिन्सिपल दम्पतीलाई पनि नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख, प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उहाँकी पत्नीलाई घटनाबारे सोधपुछका लागि प्रहरी वृत्तमा ल्याइएको जानकारी दिनुभयो ।होस्टल वार्डेन रामजी बस्नेतले यौन दुव्र्यवहार गरेको र उक्त जानकारी प्रिन्सिपललाई गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै प्रदर्शन भएको हो । 

प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार कक्षा १० की १५ वर्षीया, कक्षा ८ की १३ वर्षीया र कक्षा ७ की १२ वर्षीया बालिकामाथि वार्डेन बस्नेतले संवेदनशील अङ्गमा छुने र यौन दुव्र्यवहार गरेको भन्दै छात्रा तथा उनीहरूका अभिभावकले प्रहरीमा जाहेरी दर्तासमेत गराउनुभएको छ । 

आफूमाथि यौन दुर्व्यवहार  भएको भन्दै छात्राहरू र अभिभावकले प्रिन्सिपललगायत शिक्षालय प्रशासनलाई तीन दिनअघि नै जानकारी गराएको बताइएको छ ।प्रिन्सिपल सिवाकोटीले आरोपीलाई कारबाही गरी कानुनी दायरामा ल्याउनुको साटो छात्रा र अभिभावकलाई अपमानजनक व्यवहार गरेको भन्दै शनिबार स्कुल परिसरमा प्रदर्शन भएको थियो । विद्यार्थीहरूले होस्टलमा समेत नाराबाजी गर्दै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् । 

गत जेठ १० गते काठमाडौँ चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारी र राजकुमार पौडेलले कलेजका छात्रामाथि यौन दुर्व्यवहार  गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । कलेजमा ११ कक्षामा अध्ययनरत छात्रालाई अधिकारी र पौडेलले संवेदनशील अङ्गमा छुनेलगायत यौनदुराचार गरेको आरोप लागेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले आरोपी शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।