• २३ चैत २०८१, शनिबार

लामो समयसम्म वायु प्रदूषण रहे दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ

blog

काठमाडौँ, चैत २३  गते । पछिल्लो समय आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुख्खा हुने, एलर्जी हुने, टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या देखिन थालेको छ । वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थकर विन्दुमा पुगेकोले यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । 

विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) अनुसार पछिल्लो समय वायु प्रदूषण संसारकै सबैभन्दा ठुलो वातावरणीय स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । वायु गुणस्तर सूचकाङ्क अनुसार ० देखि ५० सम्म स्वस्थकर, ५१ देखि १०० सम्म मध्यम जोखिम, १०१ देखि १५० सम्म फोक्सोका बिरामी, ज्येष्ठ नागरिक र बालबालिकाका लागि हानिकारक र सबै समुहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थकर २०१ देखि ३०० सम्म धेरै अस्वस्थकर र सोभन्दा माथि खतराजनक मानिन्छ । 

एक्युआईका अनुसार हाल काठमाडौँको वायु प्रदूषण अस्वस्थकर छ । काठमाडौँलगायत विभिन्न ठाउँमा बेला बेलामा वायु प्रदूषण उच्च हुने गर्छ । छातिरोग विशेषज्ञ डा. प्रकाश पौडेल लामो समयसम्म वायु प्रदूषण कायमै रहे दीर्घ स्वास्थ्य समस्या उत्पन हुने बताउनुहुन्छ । 

नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमध्ये वायु प्रदूषण प्रमुख कारक हो । वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष हुने मृत्युमा विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र ज्येष्ठ नागरिक पर्छन् ।  वायु प्रदूषणका कारण नेपालमा ३७ प्रतिशत मस्तिष्कघात, ३४ प्रतिशत मुटुरोग, ३४ प्रतिशत फोक्सोको क्यान्सर, २२ प्रतिशत नवजात शिशु तथा बालबालिकाको मृत्यु हुने डल्बुएचओको तथ्याङ्कमा उल्लेख छ । 

प्रदूषणले निम्त्याउने समस्या 

नेपाल चिकित्सक सङ्घका महासचिव डा. सन्जीव तिवारीले प्रदूषित वायुले शारीरिक तथा मानसिक समस्या बढ्दै गएको बताउनुभयो । वायु प्रदूषणले शरीरको हरेक अङ्गलाई असर गर्न सक्छ । उहाँका अनुसार पछिल्लो सयम आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा आउने गर्छन् ।  

उहाँ भन्नुहुन्छ,“वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मष्तिष्क, आँखा, नाक, कान र घाँटी लगायतका अङ्गमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घरोग बढ्ने जोखिम बढाउँछ ।” अस्वस्थकर वायुले गम्भीर श्वासप्रश्वास सम्बन्धी रोग, हृदय रोग र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेल बताउनुहुन्छ ।  

अस्वस्थकर वायुबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोग भएका मानिस जोखिममा हुने डा. पौडेलको भनाइ छ । उहाँका अनुसार वायु प्रदूषणले शारीरिक तथा मानसिक रूपमा कमजोर शिशु जन्मने सम्भावना उच्च रहन्छ । 

छातीरोग विशेषज्ञ डा. पौडेलका अनुसार प्रदूषणले सबैभन्दा बढी फोक्सोमा असर गर्ने गर्छ । २० माइक्रोग्राम भन्दामाथि प्रदूषण भयो भने शरीरमा प्रवेश गर्न नसक्ने चिकित्सक बताउँछन् । 

धुलोको कण २० माइक्रोग्रामदेखि १० माइक्रोग्रामसम्म भयो भने श्वासनलीसम्म प्रवेश गर्ने गर्छ । पाँच देखि १० माइक्रोनसम्मको भयो भने वायुमण्डलमा रहिरह्यो भने फोक्सोको तल्लो भागमा असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । यदि वातवरणमा २ माइक्रोग्राम भन्दा साना धुलोका कण भए सिधै रक्तसञ्चारका माध्यमबाट शरीरका विभिन्न अङ्गमा जाने गर्छ ।  

छालारोग विशेषज्ञका डा. सविना भट्टराईका अनुसार प्रदूषणले सबैभन्दा पहिले छालामा असर गर्छ । छाला चिलाउने, एलर्जी हुने, डाबर आउने, छाला सुख्खा हुनेजस्ता समस्या देखिने उहाँको भनाइ छ । प्रदूषण लामो समयसम्म छालाको सम्पर्कमा रहिरहेमा शरीरका अन्य अङ्गमा असर गर्छ ।  

नेत्ररोग विशेषज्ञ डा. सुमित पाण्डेले वायु प्रदूषणले हुने कणले आँखामा असर गर्ने बताउनुहुन्छ । उहाँका अनुसार आँखामा धुलोका कण परेपछि आसु सुक्ने, आँखा सुख्खा हुने, पोल्ने, चिलाउने जस्ता लक्षण देखिन्छन् । उहाँ भन्नुहुन्छ, “आँखा प्रत्यक्ष हावाको सम्पर्कमा आउने गर्छ । हावामा भएको तत्व आँखामा  गएर आँखा पोल्ने, एलर्जी हुने, रातो हुने, चिलाउने दुख्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।”

एक हप्ता जोखिम कायम 

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव - प्रवक्ता रामबहादुर केसीले एक हप्तासम्म वायु प्रदूषणमा सुधार नहुने जानकारी दिनुभयो । सम्बन्धित निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन र सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्न उहाँको अनुरोध छ ।  

प्रदूषणबाट बच्न के गर्ने 

प्रदूषण बढेको बेला घरबाहिर निस्किँदा सुरक्षित माक्सको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको सुझाव छ । उहाँ भन्नुहुन्छ, “वायु प्रदूषणबाट बच्नका लागि सकेसम्म बिहान र काम नपरि नहिँड्नु नै राम्रो हुन्छ । हिँड्नै परेमा अनिवार्य माक्स लगाउने र अत्यधिक प्रदूषित क्षेत्रमा नजाने ।” 

आँखा जोगाउन घरबाहिर निस्कदा चस्मा लगाउने, मोटरसाइकलमा हिँड्ने मानिसले हेलमेटको भाइजर लगाउन चिकित्सकको सुझाव छ । 

 प्रदूषण हुन नदिन के गर्ने 

चिकित्सक सङ्घका महासचिव डा. तिवारीले वायु प्रदूषण कम गर्न सवारी साधनको प्रयोग कम गर्न, घर सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन, अत्यधिक धुलो र धुवा उत्सर्जन गर्ने, निर्माण कार्य केही  समयलाई स्थगन गरी वातावरणमैत्री हुनेगरी नियमन गर्न, वातावरणमैत्री यातायात प्रयोग गर्न, फोहोर जलाउने कार्य नगर्न, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न आग्रह गर्नुभयो । 

दीर्घकालीन रूपमा समस्याको समाधान गर्न प्रदूषित धुवाँ निकाल्ने गाडीलाई बन्द गर्ने, निर्माण कार्य राम्रोसँग छोपेर गर्ने, घरवरिपरी फोहोर नथुपार्ने जस्ता कार्य गर्दा प्रदूषण कम हुन सक्ने विज्ञको दाबी छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।