• २० चैत २०८१, बुधबार

नमुना विद्यालयकै नतिजा कमजोर

blog

घोराही उपमहानगरपालिकाको कार्यालय । फाइल तस्बिर

लीलाधर वली
घोराही, चैत १९ गते ।
घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नजिता कमजोर देखिएको हो ।

शैक्षिक सुधार तथा विकासका लागि घोराही उपमहानगरपालिकाले दुई वर्षअघि ‘एक वडा, एक नमुना विद्यालय’ बनाएको थियो । नमुना विद्यालय बनाएको दुई वर्ष बितिसक्दा पनि नतिजा कमजोर देखिएको छ । नमुना विद्यालयअन्तर्गत रहेको घोराही–१८ मा रहेको अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीको उत्तीर्ण नतिजा शून्य छ ।

शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा कक्षा ८ को परीक्षामा २२ जना विद्यार्थी सहभागी भए पनि कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । त्यसैगरी वडा नं. १९ को भगवती मावि होडबाङबाट दुई दशमलव ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट ३६ जना परीक्षामा सहभागी भएकोमा एक जना मात्र उत्तीर्ण भए । वडा नं ४ को आधारभूत विद्यालय सुनपुरमा पाँच प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा २० जना सहभागी भएकोमा एक जना उत्तीर्ण भएका हुन् ।

वडा नं १ को आधारभूत विद्यालय सिमलतारा १० दशमलवल २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ३९ जना सहभागी भएकोमा चार जना, वडा नं ३ को आधारभूत विद्यालय सरयु भैँसकुर्मामा ११ दशमलव ११ प्रतिशत अर्थात परीक्षामा सहभागी १८ जनामध्ये दुई जना मात्र उत्तीर्ण भएका छन् ।

वडा नं ५ को महेन्द्र आधारभूत विद्यालय दलजितपुरबाट २८ दशमलव ५७ प्रतिशत अर्थात २१ जना परीक्षामा सहभागी भएकोमा ६ जना विद्यार्थी उत्तीर्ण भए । वडा नं ८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्राबाट २८ दशमलव ५७ प्रतिशत अर्थात सात जना परीक्षामा सहभागी भएकोमा दुई जना, वडा नं १० को नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राईबाट २० प्रतिशत अर्थात २० जना परीक्षामा सहभागी भएकोमा चार जना, वडा नं १२ को मावि हापुर रतनपुरबाट २४ प्रतिशत अर्थात ५० जना परीक्षामा सहभागी भएकोमा १२ जना विद्यार्थी उत्तीर्ण भएको सामाविक विकास महाशाखा प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १३ को वराहक्षेत्र मावि सेवार वनगाउँबाट १० दशमलव ८७ प्रतिशत अर्थात ४६ जना परीक्षामा सहभागी भएकोमा पाँच जना, वडा नं १४ को बालविकास माविबाट २८ दशमलव ०६ प्रतिशत तथा एक सय ९६ जना परीक्षामा सहभागी भएकोमा ५५ जना, वडा नं १५ को सरस्वती मावि काठेकोहलबाट १२ दशमलव ७३ प्रतिशत अर्थात ५५ जना परीक्षामा सहभागी भएकोमा सात जना विद्यार्थी पास भएका छन् । घोराही उपमहानगरपालिकाले नमुना विद्यालय शैक्षिक सुधारका लागि विशेष लगानी समेत गर्दै आएको छ ।

चार विद्यालयमो नजिता शून्य

यसैगरी, नमुना विद्यालय एकसहित घोराहीमा चार वटा विद्यालयको नतिजा शून्य छ । कक्षा ८ को वार्षिक परीक्षाको नजितामा घोराही उपमहानगरपालिका–१६ को सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडा, घोराही– मदरसा दारुल हुँदा अल्सल्फिया आधारभूत विद्यालय र घोराही–७ मा रहेको माता पवित्रा संवेद आधारभूत विद्यालय शुक्रबार रहेका छन् । सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडाबाट नौ जना, मदरसा दारुल हुदा अल्सल्फिया आधारभूत विद्यालयबाट छ जना र माता पवित्रा संवेद आधारभूत विद्यालय शुक्रबारबाट चार जना विद्यार्थी परीक्षामा सभागिता भएकोमा सबै फेल भएको महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिकाले सोमबार सार्वजनिक गरेको नतिजामा कुल विद्यार्थी सङ्ख्या चार हजार पाँच सय २६ जना रहेकोमा दुई हजार चार सय ४८ जना पास भएका छन् ।

सामुदायिकतर्फ दुई हजार एक सय ८१ जनामा पाँच सय ३४ जना पास भएका छन् भने २३ सय ४५ जना संस्थागतका विद्यार्थीहरु मध्य १९ सय १४ जना पास भएका छन् । घोराही उपमहानगरपालिकाले यस वर्षदेखि होम सेन्टर हटाउनका साथै उत्तरपुस्तिका समेत स्वयम् विद्यालयलाई चेक गर्न दिएको थिएन । घोराहीमा ४१ वटा सामुदायिक र ५८ वटा सस्थागत विद्यालय रहेका छन् । नतिजामा चित्त नबुझेको खण्डमा चैत्र १९ देखि २२ गतेसम्म निवेदन दिनुपर्ने र १९ गतेदेखि २५ गतेसम्म पुरक परिक्षाका लागि फारम भर्न सकिने सामाजिक विकास महाशाखाले जनाएको छ ।