काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
सोमबार नेकपा एसको पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो ।
यसैगरी, श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेता/कार्यकर्ताहरूको भिड लागेको छ । श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले कोइराला पत्रकारकाहरूको पनि आदर्श व्यक्तित्व भएको बताउनुभयो ।
त्यस्तै, पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिनुभयो ।
उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।