• ७ मंसिर २०८१, शुक्रबार

महाकालीको किनारमा पाँच दिन

blog

जय भट्टराई

हामी नेपालमा बसेर कविता सुनिरहेका थियौँ, साहित्य विषयक चर्चा परिचर्चामा केन्द्रित थियौँ, कविता सीमामा बसेका भारतीयहरूले पनि सुने, चर्चा उनीहरूले पनि सुने, हामी अनेकौँ झाँकी हेरिरहेका थियौँ, लाग्छ उनीहरूले पनि हेरिरहेका थिए । कविता, गीत, प्रस्तुतिमा प्रायः लिपुलेक र कालापानी नै केन्द्रित थियो । यही भूमिमा टेक्ने अवसर पाएर साहित्य र कलाका २१ जनाको हाम्रो टोली मध्यरात दार्चुला पुग्दा भारतीय सीमाना धार्चुलामा देखिएको झिलिमिली बाहेक शायदै अरू देख्यौँ होला । त्यही रात हामीलाई स्वागत गर्न बसेकाहरूको अनुहारमा उत्साह थियो, पाहुनालाई स्वागत गर्न मध्यरातसम्म बसेकाहरू, बासथलोमा खाना पर्खेर बसेकाहरूको खटाइ सबै देख्दा लाग्यो हाँस्न र बाँच्न जानेका हामीहरू अर्काको खुसीमै रमाउन सक्छौँ । 

प्रायको पहिलो यात्रा, त्यसमा पनि दार्चुलाजस्तो मुलुककै ध्यानकेन्द्रित जिल्लामा पुग्नु नै अवसर थियो । लामो समयदेखि अमेरिका बस्दै आउनु भएका साहित्यकार किशनसिंह धामीको परिकल्पनामा डेढ वर्षअघि नै तय भएको दार्चुला बृहत् साहित्य महोत्सवको साइत जुरेको थियो । जेठ ११ गतेको सखारै त्रिभुवन विमानस्थल पुगेर धनगढी अवतरण गरेपछि दार्चुलातर्फ हाम्रो यात्रा सुरु भयो । यात्रामा को को छौँ भन्ने भेउ पनि नपाइ विमानस्थल पुगेपछि मात्र थाहा पाइयो, सहभागीहरू । यात्रामा मन मिल्ने र कुरा मिल्ने भए झन् सहज हुन्छ भन्ने सोचले पनि होला, यात्रापूर्व नै खुल्दुली लाग्ने ।


धनगढी विमानस्थलमै आयोजकसहितको टोली थपिएपछि धनगढीको गोदावरीबाट डडेलधुरा, डोटी, बैतडी हुँदै दार्चुलासम्मको १७ घण्टे बसयात्रापछि टेकिएका थिए हाम्रा पाइला आकर्षणको केन्द्र महाकाली बग्ने, भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको खलङ्गामा । जेठ १२ गते साहित्यकेन्द्रित अनौपचारिक छलफलबाहेक खासै कार्यक्रम थिएन, घुमफिर र दार्चुलाको साहित्य–कला–संस्कृति बुझ्ने र स्रष्टा र साहित्यप्रेमीलाई भेट्दैमै बिते दिन । ठाउँठाउँमा राखिएका देखिन्थे ब्यानर र स्वागत द्वार, माइकिङ गर्दै महोत्सवको प्रचार भइरहेको देखिन्थ्यो, सुनिन्थ्यो । काठमाडौँदेखि लेखक–साहित्यकार आका छन् रे भन्ने चासो र जिज्ञासा पनि सुनिन्थ्यो । भूगोलले सुदूर बने पनि सुन्दर थलो दार्चुलाको न्यायो आतिथ्यले सहभागीहरूको मन जितिसकेको थियो । गाउँगाउँबाट ओइरिएका साहित्य र संस्कृतिपे्रमीहरू देख्दा हौसिन पुगेका थियौँ । 

जेठ १३ गते, स्थानीय खुलामञ्चमा पाहुना पुग्नुअघि नै मेलालागेजस्तै मान्छेको भीड लागिसकेको थियो । ठूला ठूला प्रवेश द्वारमा समेत मान्छेहरू भित्र जान पर्खिरहेका थिए । निर्धारित समयभन्दा केही ढिला बिहानको सवा दस बजे महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यमा थालियो कार्यक्रम । कार्यक्रम आयोजक तारा किशन फाउन्डेसन, अमेरिकाका संरक्षक अध्यक्ष तारा धामीले सभापतित्व गर्नुभएको समारोहमा दार्चुला साहित्य समाजका अध्यक्ष एवं स्थानीय समन्वयकर्ता नरेन्द्रसिंह बडालको स्वागतसँगै छलिया नृत्य, डेउडाको प्रस्तुति, गौरा नृत्य, सरौँ नृत्यमा सहभागी अतिथिसमेत नाच्न पुगे । सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शनले दार्चुलाको सम्पन्न संस्कृतिले धेरैलाई मन्त्रमुग्ध बनायो । कलाकारिता र प्रस्तुतिमा पनि दार्चुला कम रहेनछ भन्ने उदाहरण प्रस्तुत भयो । कार्यक्रमका परिकल्पनाकार एवं साहित्यकार किशनसिंह धामीले दुई देशबीचको चेपुवामा परेको दार्चुलाको साहित्य कला, संस्कृतिको जगेर्नाका लागि दार्चुलामा महोत्सव गरिएको बताउँदै कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । साहित्यकार एवं सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्माराज जोशीलाई सम्मान गरिएपछि प्रमुख अतिथिले किशनसिंह धामीको एटलान्टिकका भङ्गालाहरू (अङ्गे्रजी अनुवाद) र नरेन्द्रसिह बडाल र लोकेन्दबहादुर बमको मुक्तक सङ्ग्रह छुटेका यादहरूको विमोचन गर्नुभयो । विमोचित कृतिबारे ज्ञानु अधिकारी र डा.खगेन्द्र लुँइटेलले समीक्षा गर्नुभएको थियो । उद्घाटन सत्रमा नगर प्रमुख डा.अम्माराज जोशी, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, साहित्यकार केशवदत्त बडु, जयराज पन्त (प्रमुख शिक्षा विकास तथा समन्वय एकाइ) साहित्यकार श्रीओम श्रेष्ठ रोदन, सन्ध्या पहाडी, समालोचक डा.लक्ष्मणपसाद गौतम, नाटककार एवं कवि अशेष मल्लले यात्रा अनुभूति, महोत्सवबारे र महाकालीको साहित्य संस्कृतिबारे धारणा राखेसँगै सभापति तारा धामीले आफ्नै भूमिमा आएर महोत्सव गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । 

उद्घाटन सत्र समापन भए पनि स्थानीय कवि कवयित्रीका रचना धाराप्रवाह रूपमा प्रस्तुत भएका थिए । केही छिनको विश्रामपछि अतिथि कवि अशेष मल्ल, राजेन्द्र शलभ, पवन आलोक, दामोदर पुडासैनी किशोर, गीता कार्की, सन्ध्या पहाडी, यादव भट्टराई, गोपीकृष्ण ढुंगाना, निलम कार्की निहारिकासँगै स्थानीय केशवदत्त बडु, लोकेन्द्रबहादुर बम, जनकप्रसाद अवस्थी, समीर जागरी, जितेश विवश, राजेश क्षेत्री, आयुषा जोशी आदिका रचना सुनिए । कविता सुनेपछि समीक्षामक मन्तव्य साहित्यकार व्याकुल पाठकले राख्नुभएको थियो । सोही दिनको दोसो सत्र कार्यपत्रमा केन्द्रित थिए । डा. अम्माराज जोशीले प्रस्तुत गर्नुभएको सुदूरपश्चिमका साहित्यिक, सांस्कृतिक अवलोकन कार्यपत्रमा डा. लक्ष्मणप्रसाद गौतम र धानु धामीले टिप्पणी गर्नुभएको थियो । पदम बडालले प्रस्तुत गर्नुभएको दार्चुलामा धार्मिक पर्यटन विकास विषयक कार्यपत्रमा दिलानन्द जोशी र विष्णुदत्त जोशीले टिप्पणी गर्नुभएको थियो । यो सत्रको सभापतित्व अशेष मल्ल र पवन आलोकले गर्नुभएको थियो । 

स–साना केटाकेटीसमेत उत्साहित भएर एकनास नाचिरहेका थिए । उमेरले पाकाहरू समेत फुरुङ्ग पर्दै मञ्च उक्लिएर आफ्ना प्रस्तुति दिइरहेका थिए । मानाैँ एउटा अवसरको पर्खाइ बल्ल अन्त्य भएजस्तो । 

१४ गते बिहान राजधानीको दृष्टिमा सुदूरपश्चिमको साहित्य विषयमा बहस गरिएको थियो कवि यादव भट्टराईले सहजकर्ता भएर चलाएको कार्यकममा ज्ञानु अधिकारी, निलम कार्की निहारिका, खेमराज भट्ट, देवसिंह धामी र पुष्पराज जोशी सहभागी हुनुभयो । सभापतिको रूपमा साहित्यकार दामोदर पुडासैनी किशोर रहनुभयो । सुदूरपश्चिमको संस्कृति र पर्यटन विषयक बहसमा सहजकर्ताको रूपमा श्रीओम रोदन हुनुहुन्थ्यो भने साहित्यकार शंकर भारती सभापति । डा. हरिशचन्द्र भट्ट, पदम बडाल, डा. अम्माराज जोशी सहभागी हुनुभएको थियो बहसमा । अर्को सत्रमा आयोजित प्रतियोगितात्मक कवि सम्मेलनमा निर्णायकमध्येबाट कवि राजेन्द्र शलभले प्रतियोगितामा आएका छात्राहरूको कविता बढी प्रभावशाली भएको धारणा राख्नुभएको थियो । अस्मिता बोहरा, अमृता लोहार, बसन्ती बम, सारंगी खत्री क्रमशः पहिलो दोस्रो, तेस्रो र चौथो भए पनि सहभागी १६ जना छात्र छात्रालाई नगद पुरस्कार प्रदान गरिएको थियो । यो सत्रको सभापतित्व समालोचक डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । 

कार्यक्रमको अन्तिम सत्रको रूपमा समापन समारोह रह्यो । सभाका सभापति किशनसिंह धामीले महोत्सवको सोच, तयारी, आर्थिक सहयोग र यसको यथार्थ कुरा राख्दा धेरै भावुक बन्न पुगे । पाँचबुँदे घोषणापत्र सार्वजनिक गर्दै पाँच दिने महोत्सवले बिट मार्न पुगेको थियो । 

लठ्ठी टेकेर आएका ज्येष्ठ नागरिक, केटाकेटी च्याप्दै आएका आमाहरू, विद्यालयमा पढ्दै गरेका स–साना भाइ बहिनी मात्र होइन के को मेला लागेछ भन्दै पसेजस्तो खुलामञ्चमा जम्मा भएकाहरूको भीडले भनिरहेजस्तो लाग्थ्यो दार्चुला साहित्य, कला, संस्कृतिलाई माया गर्न जान्दछ, सम्मान गर्न सिकेको छ । स–साना केटाकेटीसमेत उत्साहित भएर एकनास नाचिरहेका थिए । उमेरले पाकाहरू समेत फुरुङ्ग पर्दै मञ्च उक्लिएर आफ्ना प्रस्तुति दिइरहेका थिए । मानाैँ एउटा अवसरको पर्खाइ बल्ल अन्त्य भएजस्तो । सीमामा बेलाबखत उडिरहने हेलिकप्टरको झर्कोलाग्दो आवाजलाई हाम्रा आवाज र भावनाले आवाजहीन बनाइरहेझैँ लाग्थ्यो । 

भूगोलले टाढा भए पनि कला संस्कृतिमा धनी दार्चुलाको पाँचदिने बसाइ सकेर १५ गते सखारै फर्कने क्रममा दार्चुलाको न्यानो आतिथ्यले पछ्याउन छाडेन । अमेरिका बसेर पनि आफ्नो भूमि र यहाँको जनजीवनलाई माया गर्ने किशनसिंह धामी र उहाँकी पत्नी तारा धामीको सोच, उत्साह र उदारताले पक्कै पनि दार्चुलालाई झक्झकाएको हुनुपर्छ । सधैँ किशनसिंहहरू दार्चुला आइरहन सक्दैनन् । स्थानीय साधक जिम्मेवार निकाय अघि सर्ने हो भने यसलाई आरम्भ मान्न सकिन्छ, निरन्तरताको अभिभारा अरूको काँधमा सुम्पिएको छ यस पटकको आयोजक संस्था तारा किशन फाउन्डेसनले । प्रमुख जिल्ला अधिकारीले भन्नुभएजस्तै यस्तै सम्मेलनले सिर्जनापतिको मोह बढाउँछ, लुप्त प्रतिभाको उजागर हुन्छ, संस्कृतिले फैलिने अवसर पाउँछ । 

सुदूर भन्नुभन्दा सुन्दर भन्न उपयुक्त हुन्छ भन्दै वरिष्ठ साहित्यकार अशेष मल्लको विश्वास रह्यो संस्कृति र प्रकृतिमा धनी दार्चुलालाई राजधानीसँग जोड्ने काम अब यस सम्मेलनबाट हुनेछ । कथाकार महेशविक्रम शाह अबको समयलाई राजधानी र मोफसल भनेर छुट्टाइरहन आवश्यक नभएको विचार राख्दै हुनुहुन्थ्यो । साहित्यकार श्रीओम श्रेष्ठको चाहना रह्यो अबका पुस्ताले आउँदा दिनमा यस्तै कार्यक्रम गरुन् । दार्चुलाको उत्साह, संस्कृति, साहित्यमा उम्दा सर्जक देख्दा लाग्छ संस्कृतिमा जस्तै साहित्यमा पनि दार्चुला कम छैन । भौतिक पूर्वाधारले अलि पछि नै परे पनि कला, संस्कृति, साहित्य, आतिथ्य, व्यवहारमा दार्चुला अघि नै रहेछ । महाकालीको पीडा, लिपुलेक र कालापानीको दुःख सबै सहेर पनि दार्चुला आफ्नै पहिचानमा दरोसाथ उभिएको छ, आफ्नैपनले, आफ्नै वैभवले, आफ्नै सुन्दरताले ।