• १८ चैत २०८१, सोमबार

भ्रूण–समाधि यात्रा बुझाउने नाटक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १५ गते । संसारका सबै सजीवको जीवन भू्रणबाट सुरु हुन्छ, मृत्युमा पुगेर टुङ्गिन्छ । यी दुई परिघटनाबिचको अवधि नै जीवन हो । जीवनलाई बुझ्ने, बुझाउने अनेक शास्त्र, कला, विधा छन् । तीमध्ये रङ्गमञ्च लोकप्रिय र चर्चित माध्यम हो । पर्यटकीय राजधानी पोखरामा भएको नाटक महोत्सवमा मञ्चित छ नाटकले नै जीवनका विशेष पक्ष चित्रण गरेका थिए । तीमध्ये सबैभन्दा पृथक् र जीवन बोल्ने नाटक थियो, इम्ब्रिओनिक अर्थात् भ्रूण ।

पोखराका युवा रङ्गकर्मी केदारनाथ पौडेलले तीन वर्षअघि यो नाटक तयार गर्नुभएको थियो । नाटकको कार्यक्रममा इटाली पुगेर फर्किंदै गर्दा जहाजमै नाटकको अवधारणा आएको पौडेल स्मरण गर्नुहुन्छ । नेदरल्यान्डको आकाशमाथि उडिरहँदा उहाँलाई जमिनका मान्छे भ्रूण जस्तै साना लागे । ती भ्रूणबाट विकसित हुँदै सजीवको जीवनयात्रा कल्पिँदै उहाँ नेपाल आइपुग्नुभयो । सन् २०२२ मा इटालीको पिसामा पहिलो पटक मञ्चन गरिएको यो नाटक अहिलेसम्म नेपालसहित जापान र भारतका विभिन्न ठाउँमा प्रदर्शन भइसकेका छन् । 

नाटक महोत्सवमा नाटककार पौडेलसहित अनिल तिमिल्सिना, रामहरि अधिकारी, कपिल शर्माले भ्रूणलाई मञ्चन गर्नुभयो । आँखा बन्द गरिएका ससाना भ्रूणको सङ्घर्षदेखि जन्म, बाल्यकाल, किशोरावस्था, प्रौढावस्था र वृद्धावस्थासमेत नाटकमा देखाइएको छ । करिब ४० मिनेटको नाटकले मान्छेको पूरै जीवनयात्रा प्रतीकात्मक रूपमा देखाएको छ । संवाद र भौतिक द्वन्द्वबिनाको यो नाटक दर्शकलाई अनौठो लाग्छ । 

गोप्य अङ्गबाहेक शरीर नाङ्गै भएका र सेतो रङ पोतिएका पात्रहरू वैज्ञानिकहरूले आममान्छेलाई बुझाउन देखाउने भ्रूणका प्रतीकात्मक चित्र जस्तै लाग्छन् । नाटककार आफैँले निर्देशन गरेको यो नाटकमा सङ्गीतको लयमा मान्छे बन्न र संसारमा आएपछि जीवन चलाउन गरिएको सङ्घर्ष चित्रित छ । रङ, प्रकाश र हाउभाउले मात्र जीवनको कथा रङ्गमञ्चमा चलिरहँदा दर्शक भने मौन हुन्छन् । 

यहीबिचमा प्लास्टिकभित्र संसार नियाल्न आएको मानवको दर्दनाक आवाजले दर्शकको ध्यान भङ्ग गराइदिन्छ । नाटकको अन्तिमतिर सङ्गीतको धुन कारुणिक र अप्रिय बन्दै जान्छ । वृद्धावस्थामा कमजोर बन्ने सजीवको शरीर जस्तै मलिन सङ्गीत मानव अस्तित्व ढलेपछि बन्द हुन्छ । नाटक सकिएपछि दर्शकको मस्तिष्कमा भने जीवनयात्राबारे अनेक तर्कना चल्न थाल्छन् । ‘पर्फर्मेन्स’ कला जस्तो लाग्ने यो भ्रूणलाई नाटक मान्ने कि पर्फर्मेन्स आर्ट ? यसको जवाफ नाटककार पौडेल दर्शकबाट सुन्न चाहनुहुन्छ । उहाँकै नेतृत्वमा रहेको इन्द्रेणी थिएटरले नाटक तयार गरेको हो । नेपाली नाटकमा विद्यावारिधि गर्नुभएका प्राडा रामचन्द्र पोखरेल ‘भ्रूण’ नाटकले नेपाली नाटकमा नयाँ आयाम थप्दै नवीन पहिचान दिएको उल्लेख गर्नुहुन्छ ।