• ७ वैशाख २०८२, आइतबार

महिलालाई उद्यमी बनाउन चप्पल बनाउने तालिम

blog

तालिम उदघाटनमा सहभागी अतिथिहरु ।

हरिप्रसाद सुवेदी

पुतलीबजार (स्याङ्जा), चैत १४ गते । वालिङका महिलाहरुलाई उद्यमी बनाउन एक हप्ते चप्पल बनाउने तालिम सुरु गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा २८ जना महिलालाई सीपमुलक तालिम प्रदान गरिएको हो । 

उद्यमी महिलाहरुले तालिम पश्चात उत्पादन गरेको चप्पल लगायतका सामग्री कोसेलीघरमार्फत बिक्री गर्न नगरपालिकाले जिम्मा लिने नगर उपप्रमुख कविता तिवारी (गैह्रे) ले बताउनुभयो । 

तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नु पर्ने बताउँदै उपप्रमुख तिवारीले भन्नुभयो, “हामीले उद्यमशीलतातर्फ जोडिन चाहने उद्यमीलाई विनाधितो कर्जा प्रवाह गर्ने र बजार ग्यारेण्टी गर्ने कार्यक्रम अघि सारेका छौँ ।” 

घरेलु तथा साना उद्यमको कार्यक्रमले महिलालाई वित्तीय साक्षरता तथा पहुँचबारे शिक्षा प्राप्त हुने उहाँले बताउनुभयो । वालिङ नगरभित्र बिभिन्न समयमा तालिम लिएका उद्यमीहरुलाई लक्षित गर्दै वालिङ ८ को नयाँबजार क्षेत्रलाई नगरले विशेष बजार निर्माण गर्ने अवधारणा अघि सारिएको तिवारीको भनाइ छ । 

सोही कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघले सीपमुलक तालिम सञ्चालन गरेर महिलाहरुलाई स्वावलम्बन बनाउन खोजेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । “हिजो महिलाहरु घरबाट निस्किने स्वतन्त्रता थिएन, अहिले घर बाहिर निस्किन मात्र होइन, आर्थिक आयआर्जनसँग जोडिने स्वतन्त्रता पनि महिलाले प्राप्त गरेका छन्” अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तालिमबाट महिलाहरु उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने ईन्द्र थापाले बताउनुभयो । सानो पूँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिलाहरु सजिलै आत्मनिर्भर बन्न सक्ने थापाको भनाइ छ । चप्पल बनाउने तालिम १९ गतेसम्म चल्नेछ ।