मनहरी समाचारदाता
हेटौँडा, चैत १४ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयको मिचिएको जग्गा स्थानीय सरकारको पहलमा फिर्ता हुन थालेको छ ।
विद्यालयको नाममा दर्ता कायम रही लालपुर्जा कायम रहेको पाँच बिघा १७ कट्ठा जग्गा विद्यालयका सँधियारले अतिक्रमण गरी घरजग्गा र भौतिक संरचना बनाएको पाइएको हो । पूर्वपश्चिम राजमार्गको सिमपानीबाट देवकोट हुँदै राक्सिराङ र कैलाश गाउँपालिकातर्फ जाने पक्की सडक निर्माणका क्रममा विद्यालयले अमिन खटाएर जग्गा नापेको हो ।
जग्गा नाप्ने क्रममा हाल उक्त सडकमा निर्माण भएका अधिकांश स्ल्याब ढलान नै विद्यालयको जग्गामा परेको भेटिएको मनहरी गाउँपालिका–८ का वडाध्यक्ष नारायण उप्रेतीले बताउनुभयो । “लामो समयदेखि उपभोग गर्दै आइरहेको जग्गा हटाउन निकै समस्या प-यो,” वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “कैयौँका घरटहरा आधाआधी काटेर अहिले सडक विस्तार गरिएको छ ।” विद्यालयले आफ्नो जग्गा नापेर सीमाङ्कन गर्दा व्यक्तिका जग्गातर्फ बाटो पुगेको र पुरानो बाटो विद्यालयको जग्गा बनेको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।
विद्यालयको पूर्वतर्फ र उत्तरतर्फका दुई वटा सडकमा गरी झन्डै ३० वटा घरटहरा बाटोमा परेको उहाँको भनाइ छ । बाटामा परेका घरटहरालाई नक्साङ्कन र सीमाङ्कनभन्दा बाहिर पुनर्निर्माण गर्न स्वयम् व्यक्तिकै अगुवाइमा भत्काउने काम भइरहेको छ । पश्चिम मकवानपुरकै पुरानो हाइस्कुलका रूपमा महेन्द्रकिरण माध्यमिक विद्यालय अस्तित्वमा छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा चुनौतीका बिच विद्यालयको जग्गा छुट्याउनका लागि कुनै पनि सम्झौता नगरिएको बताउनुभयो । विद्यालयको आर्थिक व्यवस्थापनका लागि राजमार्गसँग जोडिएका जग्गामा व्यावसायिक भवन निर्माण गरी भाडामा लगाइएको र तत्कालै विद्युतीय सवारी चार्जिङ स्टेसनसमेत निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको उहाँले बताउनुभयो ।
चार्जिङ स्टेसन निर्माणका लागि चालु आर्थिक वर्षमा नै मनहरी गाउँपालिकाले १० लाख रुपियाँ विनियोजन गरिसकेको छ । कक्षा १२ सम्म अध्यापन भइरहेको महेन्द्रकिरण माध्यमिक विद्यालयमा आठ सयको हाराहारीमा विद्यार्थी छन् भने स्रोतका आधारमा सबैभन्दा धनी विद्यालयका रूपमा रहेको छ ।