• १७ चैत २०८१, आइतबार

अठचालिस वर्षपछि सडक कालोपत्रे

blog

स्तरोन्नतिसहित कालोपत्रे गरिएको सडक ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, चैत १४ गते । सडक ट्र्याक खोलेको ४८ वर्षपछि त्रिपुरासुन्दरी गाउँपालिका ५ र ६ पुग्ने बाल्का–टेकानपुर–तौथली सडक कालोपत्रे सुरु भएको छ । २०३३ सालदेखि २०३८ सम्म नेपाल ओरियन्ट म्याग्नेसाइड उद्योगले उक्त १६ किलोमिटर दुरीको सडक ट्र्याक खोलिदिएको थियो ।  गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बागमती प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा सो सडक कालोपत्रेका लागि छ करोड बजेट विनियोजन गरेर ठेक्का लागेको जानकारी दिनुभयो । सदरमुकामस्थित चौतारामा रहेको पूर्वाधार विकास कार्यालयबाट बोलपत्र आह्वान भएको छ । 

लामोसाँघुस्थित बाल्का झोलुङ्गे पुलबाट टेकानपुर, तौथलीसम्म सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका बजेट प्राप्त भएपछि दर्जनौँ गाउँका स्थानीय हर्षित भएको त्रिपुरासुन्दरी गाउँपालिका–६ का अध्यक्ष रमेश बोहोराले बताउनुभयो । 

उक्त बजेटले करिब साढे चार किलोमिटरसम्म स्तरोन्नतिसहित कालोपत्रे हुने अनुमान छ । बजेटको सही सदुपयोग गरेर काम भएमा सो बजेटले करिब छ किलोमिटरसम्म कालोपत्रे हुने प्राविधिकले बताएका छन् ।

यस्तै वडा नम्बर ५ का अध्यक्ष यादव श्रेष्ठको पहलमा तौथली बजार क्षेत्रमा दुई किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । बागमती प्रदेश सरकारले उक्त सडकका लागि गत वर्षमा छ करोड रुपियाँ बजेट प्रदान गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकामै पहिलो पटक तौथलीमा कालोपत्रे भएको हो । बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकमा कालोपत्रे भएपछि तौथलीको जनजीवन सहज र स्वस्थकर भएकाले अध्यक्ष श्रेष्ठले खुसी प्रकट गर्नुभयो । बागमती प्रदेश सरकारबाट गत आवमा प्राप्त एक करोड बजेटबाट बाल्का सडकखण्डबाट कालोपत्रेका लागि बेस हाल्ने काम भइरहेको छ । प्रदेश सरकारबाट उपलब्ध बजेटले टेकानपुरको बाघखोरसम्मको सडक कालोपत्रे हुने जनाइएको छ । बाल्काबाट तौथलीसम्म १६ किमी र त्यहाँबाट दोलखाको खरीढुङ्गासम्म साढे चार किलोमिटर दुरी पर्छ । उक्त सडक २०३३ देखि २०३८ सालसम्म नेपाल ओरियन्ट म्याग्नेसाइडले सडक ट्र्याक खोलेको थियो । बहुदल प्राप्त भएपछि सोही ट्र्याकलाई चौडा, मर्मत सुधार गरेर फराकिलो बनाइएको थियो । 

उक्त सडकको झोलुङ्गे ड्यामसाइडमा २०७६÷७७ सालमा सात करोड लागतमा ८० मिटरको मोटरेबल पुल निर्माण भएको थियो । पक्की पुल निर्माण भएपछि बाल्का–टेकानपुर–तौथली–खरीढुङ्गा सडक खाडीचौरबाट दोलखाको खरीढुङ्गा पुग्नेभन्दा ११ किलोमिटर दुरी कम पर्छ । यस सडकलाई लामोसाँघु–जिरी सडकको वैकल्पिक सडकका रूपमा मानिन्छ ।