हेटौँडा समाचारदाता
हेटौँडा, चैत १४ गते । मकवानपुरको बकैया गाउँपालिका–१२, धेत्रेदमारको सिमातखोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमातखोलामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेपछि कालभैरव प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी खुसी भएका हुन् । बकैया गाउँपालिकाको प्राविधिक, चाइल्ड रेस्क्यु नेपालको आर्थिक सहयोग र इस्थर बेन्जामिन स्मृति संस्थाको साझेदारीमा निर्माण भएको पुलको उद्घाटन गरिएको छ । ९० मिटर लम्बाइ रहेको लुइस वान्स् स्मृति झोलुङ्गे पुल ४० लाख रुपियाँको लागतमा निर्माण गरिएको हो ।
झोलुङ्गे पुलको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, चाइल्ड रेस्क्यु नेपालका कार्यकारी निर्देशक जो बेगाले उद्घाटन गर्नुभयो । बकैया गाउँपालिका १२ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यव्रmममा बोल्दै पालिका अध्यक्ष लामिछानेले बकैयामा इस्थर बेन्जामिन स्मृति संस्थाले विद्यालय भवन, शौचालयका साथै पुल पनि निर्माण गरिदिएकोमा धन्यवाद दिनुभयो । उहाँले शैक्षिक क्षेत्रमा संस्थाले गरेको लगानी प्रशंसायोग्य रहेको बताउनुभयो ।
बर्खाको समयमा सिमातखोलामा बाढी आउँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी र प्रधानाध्यापक मिलेर विद्यार्थीलाई खोलावारिबाट तारेर पारि लैजाने र विद्यालय बन्द भएपछि पुनः खोला तारेर घर पठाउनुपर्ने बाध्यता हटेको छ । २०७२ सालको भूकम्पबाट जीर्ण बनेको विद्यालय भवनसमेत पुल निर्माण गरिदिएको संस्थाले नै गरिदिएको हो ।
कक्षा ३ सम्म अध्यापन हुने यस विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत रहनुभएको विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेले जानकारी दिनुभयो । यहाँ गोदामडाँडा, अजिङ्गरे, धेत्रे र डिप्सबाटालगायतका क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउने गर्नुभएको छ । तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा भौगोलिक विकटताका कारण एक घण्टा टाढाबाट विद्यार्थी हिँडेर आउनुपर्ने बाध्यता छ । २०५३ सालमा निर्माण भएको यस विद्यालय आवतजावत गर्न झोलुङ्गे पुल निर्माण भएपछि बर्खामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।