• १७ चैत २०८१, आइतबार

शरीरमा राखिएका रड र किला निकालियो

blog

तस्बिर : राधा लुइटेल फिदिममा आयोजित हाडजोर्नीसम्बन्धी निःशुल्क शिविरमा खुट्टामा राखिएको स्टिल रड झिकेपछि ताप्लेजुङका शुक्र लिम्बू ।

फिदिम समाचारदाता

फिदिम, चैत १४ गते । सवारी दुर्घटनामा परेर खुट्टा भाँचिएका ताप्लेजुङ आङ्खोप निवासी शुक्रराज लिम्बूले विराटनगर पुगेर स्टिल राख्नुभएको थियो । उहाँको खुट्टामा राखिएको स्टिल दुई वर्षअगाडि नै झिकिसक्नुपर्नेमा उपचार खर्चको अभावले उहाँ अस्पताल जान नसक्नु भएपछि उल्टो असर पर्न थालेको थियो ।

“मसँग पैसा थिएन, बिर्तामोड वा विराटनगर गएर दुई लाख रुपियाँ खर्च गर्दा मात्रै स्टिल झिक्न सकिन्छ भनेपछि शल्यव्रिmया गरेर राखिएका किलाकाँटी शरीरमै बोकेर हिँडिरहेको थिएँ,” उहाँले भन्नुभयो, “धेरै कष्ट थियो, नझिकी मरिएला कि भन्ने डर लाग्थ्यो । निःशुल्क शिविर चलिरहेको थाहा पाएपछि यहाँसम्म आएँ र उपचार भयो,” पाँचथर जिल्ला अस्पतालको शøयामा आराम गरिरहनुभएका लिम्बूले भन्नुभयो ।

गाडीचालक उहाँ आफैँले चलाएको पिकअप दुर्घटनामा पर्दा दुवै खुट्टा भाँचिएका थिए । भाँचिएका खुट्टाको हाड जोड्न स्टिल रड राख्दा चार लाख रुपियाँभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो । दुर्घटनापछि कमाइ गर्ने आधार सकिएकाले खुट्टाको स्टिल झिक्न पैसा नजुटेको उहाँको भनाइ छ । 

शुव्रmराज जस्तै फिदिम बजारमा ज्याला मजदुरी गर्दै आउनुभएका नसिम मियाले पनि दुई वटै खुट्टामा स्टिल रड बोकेर हिँडिरहनुभयो । दुर्घटनापछि राखिएका स्टिल रड आर्थिक अभावका कारण झिक्न नसक्दा शरीरभित्रै बोकेर हिँडिरहनुभएका उहाँले जिल्ला अस्पतालमा आयोजित शिविरमा आएर झिक्नुभयो ।

कमजोर आर्थिक अवस्थाकै कारण शरीरमा राखिएको स्टिल रड झिक्न नसक्दा चार वर्षदेखि पीडामा रहनुभएकी फिदिम–६, सिवाकी माया मगरले पनि यही शिविरबाट निःशुल्क सेवा पाउनुभयो ।

ठुलासाना दुर्घटनामा परेपछि भाँचिएका हाडजोर्नीलाई पूर्ववत् अवस्थामा फर्काउन, बाङ्गिएका हातगोडा मिलाउन र सोझ्याउन स्टिल राखिए पनि हाडजोर्नीका अस्पतालको पहुँच पहाडी जिल्लाका अस्पतालमा नहुँदा बिरामीलाई निकै अप्ठ्यारो पर्ने गरेको छ । स्टिल राख्न र झिक्न खर्चिलो पनि हुने भएकाले आर्थिक अभावका कारण पीडा सहेर बसिरहेका ग्रामीण क्षेत्रका नागरिकलाई फिदिममा विज्ञ चिकित्सकको उपस्थितिमा हाडजोर्नीसम्बन्धी निःशुल्क शिविर आयोजना गरिएको हो ।

फिदिम नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र पाँचथर जिल्ला अस्पतालको आयोजनामा सञ्चालित शिविरमा एक सय जनाको शरीरबाट स्टिल रड झिकिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शिविरमा हातगोडा र शरीरमा राखेको स्टिल झिक्ने, भाँचिएका र बाङ्गिएका हड्डी मिलाउने, शल्यव्रिmया गर्ने र हाडजोर्नीको समस्या पहिचान गर्ने काम भएको शिविर आयोजकले जानकारी दिएका छन् ।

शिविरमा पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमसँगै झापा र काठमाडौँबाट पनि आएका बिरामीले सेवा लिएको नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक कैलाशकुमार भण्डारीले जानकारी दिनुभयो ।

“शरीरमा राखेका स्टिल रड झिक्न प्रकृति अनुसार न्यूनतम तिस हजारदेखि अधिकतम चार लाख रुपियाँसम्म खर्च हुने भएकाले सर्वसाधारणलाई खर्च जुटाउन सजिलो छैन, त्यही भएर विपन्न वर्गका बिरामीलाई लक्षित गर्दै हामीले देश विदेशका सरकारी र गैरसरकारी संस्थासँगै मनकारी व्यक्तिको सहयोगमा निःशुल्क शिविर चलाउँदै आएका छौँ,” भण्डारीले थप्नुभयो । फिदिममा आयोजित शिविरमा एक सय जनाको शरीरबाट स्टिल रड झिक्नुका साथै एक हजार चार सय जनाको स्वास्थ्य परीक्षण गरी समस्या पहिचान गरिएको भण्डारीको भनाइ छ ।