गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १४ गते । नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो स्थापना दिवसका अवसरमा महासङ्घले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
महासङ्घ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मङ्गलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यकाबाहिरका जिल्ला शाखामा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबाट प्रतिबद्धता प्राप्त भएबमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यकाबाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रबन्ध मिलाइएको महासङ्घका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।