• १६ चैत २०८१, शनिबार

चित्रकलामा भविष्य खोज्दै युवा

blog

भैरहवामा रहेको आफ्नो आर्ट ग्यालरीमा नहकुल विश्वकर्मा ।

प्रतीक पौडेल

मर्चवार, चैत १२ गते । एउटा हातमा ब्रस अर्को हातमा रङको भाँडो । रङमा ब्रस डुबाउँदै दिनभरि चित्र कोर्न व्यस्त देखिनुहुन्छ रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका निवासी ३४ वर्षीय युवा नहकुल विश्वकर्मा ।

महामानव गौतमबद्ध र नेपालका विभिन्न प्राकृतिक दृश्यको चित्र कोरिरहनुभएको उहाँ त्यसैमा रमाइरहेको देख्न सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान बाट फाइन आर्टमा स्नातक गर्नुभएको विश्वकर्मा काठमाडौं छोडेर ३ वर्षअघि रुपन्देहीलाई रोज्नुभयो । जीवनको पहिलो पटक रुपन्देही जिल्ला प्रवेश गर्नुभएको नहकुल आफ्नो कलाले बजार पाउने सम्भावना देखेर यहाँ आउनुभएको थियो । 

रुपन्देही जिल्लामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल, सीमा नाकाको सहर र नजिकैको लुम्बिनी देखेर नहकुलले यहाँ आफ्नो कलाले बजार पाउने आसमा आर्ट ग्यालरीको सुरुवात गर्नुभयो ।

नहकुल भन्नुहुन्छ, “चित्र कोरेर जीवन चलाउनु छ भने यसलाई व्यावसायिकता तिर जोड्नुपर्छ भन्ने ठानेर भैरहवामा आर्ट ग्यालरीको सुरुवात गरेको हुँ ।" नहकुलले भैरहवा एकदमै राम्रो बजार र भावी सम्भावना बोकेको सहरको रूपमा रहेकोले आर्ट ग्यालरीको सोच ल्याएको बताउनुभयो । 

नहकुलको परिवार अहिले आर्ट ग्यालरीको आम्दानीबाट जिविकोपार्जन गर्न सफल छ । उहाँको ग्यालरीमा सुन्दर चित्रहरू देख्न सकिन्छ । ग्यालरीमा नेपालका विभिन्न पर्यटकीय स्थल, गौतमबद्ध, लुम्बिनीका पेन्टिङ आर्टहरू देख्न सकिन्छ । 

नहकुल जस्तै बुटवल उपमहानगरपालिका निवासी ५० बर्सिया विष्णु सुवेदी ब्रस र रङमा दिनभर रमाएको देखिन्छ । १४ वर्षको उमेरमा पहिलो पटक चित्र कोर्न थाल्नुभएको सुवेदी चित्रकारकै रूपमा कतार सम्म पुग्नुभयो । कतार पुगेर फर्किएपछि बुटवलमा आएर आर्ट ग्यालरी सञ्चालन गर्न थाल्नुभयो । सुवेदी भन्नुहुन्छ, “चित्रकारिता गरेरै जिउने इच्छा हो, पछिल्लो समय प्रविधि र चित्रकारितालाई जोडेर केही नयाँ गर्ने प्रयासमा छु ।"


विश्वकर्मा र सुवेदी जस्तै अर्का चित्रकार हुन् बिसन गुरुङ । गुरुङ ४७ वर्षको पुग्नुभयो । स्कुल पढ्दादेखि नै चित्रकलामा रुचि राख्ने उहाँ अहिले यसै पेसाबाट स्वरोजगार बन्नुभएको छ । चित्रकला (फाइन आर्ट) र ब्यानर साइन बोर्डमा लेख्ने –(कमर्सियल आर्ट) बनाउन उहाँ विभिन्न ठाउँ पुग्नुहुन्छ । दिनभरि काम गरेर त्यसैबाट घर परिवारको गुजारा गर्नुहुन्छ ।गुरुङ भन्नुहुन्छ, “मासिक ६० हजार सम्म कमाइ हुने गर्छ, पहिला भन्दा त कम हो तर कमाइ भने हुन्छ ।"

रुपन्देहीका अर्का चित्रकार हुन् गणेश घिमिरे । गणेशले सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा प्रतिभा आर्ट विसं २०६६ साल देखि सञ्चालन गर्नुभएकाे छ । उहाँको कला विशेष छ । गणेशले हेन्डिक्राफ्ट आर्ट गर्नुहुन्छ । उहाँको ग्यालरीमा फेँकिएका बस्तु धानको डाँठ, काठका छिर्का लगायतबाट उहाँले विभिन्न तस्बिरहरू सिर्जना गर्नुभएको छ । 

३३ वर्षदेखि भैरहवामा रहेर चित्र सिर्जना गर्दै आउनुभएका गणेश भन्नुहुन्छ, “स्थानीय सरकारले आफूहरू प्रति चासो दिएर विभिन्न कला प्रदर्शनी लगायतका कार्यक्रम ल्याउन सक्नुपर्छ” । रुपन्देही जिल्लामा करिब ४० जना चित्रकारहरू छन् । सबैको आवाज एउटै खालको छ, “तीन तहका सरकारले चित्रकारहरूको लागी पनि सोचिदिनुपर्‍याे ।"