• १० माघ २०८१, बिहिबार

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २० गते । प्रतिनिधिसभा बैठकमा यौन हिंसा विरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पेश गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” र “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गर्नुभएको हो ।

संवैधानिक व्यवस्था र विभिन्न सन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्डसम्बन्धी कानुनी व्यवस्था गर्न नमिल्ने तर सजाय बढाउन मिल्नेगरी विधेयक ल्याइएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो । जवरजस्तीकरणी गर्नेलाई कानूनी सजायको व्यवस्था गर्नेगरी विधेयक ल्याइएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री शर्माले वालिक, महिला र युवतीमाथि तेजाव हान्ने कार्यलाई निरुत्साहित गरी दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुनेगरी फौजदारी कसुरसम्बन्धी विधेयक ल्याइएको बताउनुभयो ।

सजायमा व्यापक बढाई २० वर्ष कैद र १० लाख क्षतिपूर्तिको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उक्त दुवै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।