• १६ चैत २०८१, शनिबार

सुदूरपश्चिमको बजेट छ अर्ब ६२ करोड खर्च

blog

प्रदेश लेखा नियन्त्रकको कार्यालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १३ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोेस्रो चौमासिकसम्म छ अर्ब ६२ करोड १३ लाख रुपियाँ बजेट खर्च गरेको छ । प्रदेश सरकारले फागुन मसान्तसम्म त्यत्ति बजेट खर्च गरेको हो । 

चालु आर्थिक वर्षका लागि ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बजेट ल्याएको प्रदेश सरकारको हालसम्मको बजेट खर्च प्रगति २१ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार प्रदेश सरकारले अझै २४ अर्ब ९१ करोड ५२ लाखभन्दा बढी बजेट खर्च गर्न बाँकी रहेको छ । तर, चालु आर्थिक वर्षमा काम गर्ने समय चार महिनामात्रै बाँकी रहेको छ । 

विकास बजेट खर्च प्रगति सन्तोषजनक देखिएको छैन । सरकारले दोस्रो चौमासिकसम्म दुई अर्ब ७४ करोड ५९ लाख रुपियाँमात्रै पुँजीगत बजेट खर्च गरेको छ । जुन खर्च प्रगति १४.६४ प्रतिशत हुन आउँछ । सरकारले पुँजीगततर्फ यस आर्थिक वर्षमा १८ अर्ब ७५ करोड ७९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

चालुतर्फको बजेट खर्च प्रगति भने पुँजीगतको तुलनामा केही बढी रहेको छ । सरकारले चालुतर्फको बजेट हालसम्म तीन अर्ब ८७ करोड ५४ लाख रुपियाँ खर्च गरिसकेको छ । 

चालुतर्फ जम्मा १२ अर्ब ७७ करोड ६ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । हालसम्म चालु बजेट खर्च प्रगति ३०.३५ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिनुभयो ।