• १६ चैत २०८१, शनिबार

प्रतिपक्षी दलको अवरोधले दुवै सदनको बैठक स्थगित

blog

काठमाडौँ, चैत १३ गते। प्रतिपक्षीको निरन्तर अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित भएका छन्। 

प्रतिपक्षी दलको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। त्यसैगरी राष्ट्रिय सभाको बैठकमासमेत प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो। 

बुधबार आधा घण्टाको लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक फेरि सुरु भएपनि प्रतिपक्षी दलले बैठकमा अवरोध कायमै राखेका हुन्। प्रतिपक्षी दलले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन्। कुलमानको बर्खास्तीबारे रोष्ट्रमबाट प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ। 

राष्ट्रिय सभामासमेत कुलमान घिसिङलाई हटाएकै विरोधमा प्रतिपक्षी दलले अवरोध गरेका हुन्। १५ मिनेटका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक फेरि बस्न सकेको छैन। 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो। घिसिङलाई कार्यकारी निर्देशकबाट पदमुक्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ। चित्तबुझ्दो जवाफ नआए फेरि बैठक अवरोध कायमै राख्ने उनीहरुको जिकिर छ।