• १६ चैत २०८१, शनिबार

शैक्षिक सुधारकाे माग गर्दै वडाध्यक्ष धर्नामा

blog

विभिन्न माग गर्दै धर्नामा बसिरहनुभएका वडाध्यक्ष सरोजकुमार यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत १३ गते । धनुषाको सबैला नगरपालिका–११, का वडाध्यक्ष सरोजकुमार यादव ४४ दिनदेखि धर्नामा बसिरहनुभएको छ । शैक्षिक सुधार, सरसफाई तथा कर्मचारी व्यवस्थापन लगायतका विभिन्न माग गर्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्नामा हुनुहुन्छ । 

वडाध्यक्ष यादवले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सरसफाइलगायतका माग राख्दै धर्नामा बसिरहेको बताउनुभयो । उहाँले आफ्नो माग कार्यान्वयन नभएसम्म धर्ना जारी राख्ने जानकारी दिनुभयो। उहाँले स्थानीय सरकार नागरिकका मौलिक हक सुनिश्चित गर्ने संस्था भएको बताउँदै आफ्नो प्रस्तावमाथि छलफल नहुँदा अनिश्चितकालीन धर्नामा बस्न बाध्य भएको सुनाउनुभयो । 

वडाध्यक्ष यादवले पाँच वटा नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा आफ्नो प्रस्ताव राखे पनि त्यसमाथि छलफल नै नगरिएको गुनासो गर्नुभयो । उहाँले नगर प्रमुख कारीराम यादवले आफूले राखेका प्रस्तावलाई बेवास्ता गरेकाले बाध्य भएर धर्नामा बस्नुपरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्थानीय सरकार भनेको नागरिकको मौलिक हकसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता सेवा प्रवाह गर्नु प्रमुख दायित्व हो । तर मेरो प्रस्तावमाथि कुनै छलफल नगरी बेवास्ता गरियो जसका कारण म ४४ दिनदेखि धर्नामा बसेको छु,।” उहाँले विभिन्न मितिमा दर्ता गराएका प्रस्तावमाथि छलफल गरी निर्णय कार्यान्वयन नहुञ्जेलसम्म धर्ना जारी रहने बताउनुभयो । 

वडाध्यक्ष यादवले आफूले उठाएको माग आफ्नो वडाको मात्रै नभई नगरपालिकाको सबै वडाको साझा समस्या भएको बताउँदै यहाँ विद्यार्थी सङ्ख्याको अनुपातमा ७० भन्दा बढी शिक्षक सङ्ख्या कम रहेका जानकारी दिनुभयो । शिक्षकको सङ्ख्या धेरै कम भएकाले विद्यार्थीको अध्ययन प्रभावित भइरहेको उहाँको भनाइ छ । 

वडाध्यक्ष यादवका अनुसार वडा कार्यालयमा कम्प्युटर अपरेटरको पनि अभाव छ । जसले गर्दा स्थानीयवासीलाई सेवा दिन कठिनाइ भइरहेको छ । 

उहाँले विषय तथा कक्षाअनुसार शिक्षक पूर्ति, सामाजिक सुरक्षाभत्ता प्रत्येक वडाको टोल टोलमै गएर वितरण गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र प्रत्येक वडामा गएर बनाउने व्यवस्था गर्नुपर्ने, प्रत्येक वडा कार्यालयमा कम्प्युटर अपरेटरको व्यवस्था गर्नुपर्ने आफ्नो माग रहेको बताउनुभयो ।                                                                                                                                                                       

सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले वडा नम्बर ११ का वडाध्यक्ष यादवले उठाएका माग चाँडै कार्यान्वयन नभए आफू पनि वडा कार्यालय बन्द गरी धर्नामा बस्ने चेतावनी दिनुभयो ।

सबैला नगरपालिकाका नगर प्रमुख यादवले वडाध्यक्ष यादवले उठाएका केही जायज मागलाई  कार्यान्वयन भइरहेको राष्ट्रिय परिचयपत्र र समाजिक सुरक्षाभत्ता गाउँगाउँमै गएर वितरण गर्नुपर्ने माग सुरक्षा तथा प्राविधिक दृष्टिकोणले अनुचित भएको उहाँले जानकारी दिनुभयो ।