चित्र मिजार
सिन्धुपाल्चोक, चैत १३ गते । अरनिको राजमार्ग बन्देउदेखि तातोपानीको लिपिङसम्मको सडकखण्ड स्तरोन्नतीका लागि तीन अर्ब सुनिश्चित भएको छ । बाढीपहिरो, भूकम्प लगायतका प्राकृतिक विपतबाट थिलथिलो र उक्त सडकखण्डको मर्मत सुधारलगायतका स्तरोन्नतीका लागि सरकारले बजेट पठाएको हो ।
मन्त्रिपरिषदको निर्णयले बजेटको स्रोत सुनिश्चित गरेपछि सडक विभागले उक्त सडकखण्डको स्तरोन्नतीका लागि ठेक्का प्रक्रिया थालनी गरेको छ । प्रतिनिधिसभा १ का सांसद माधवप्रसाद सापकोटा (सुवोध)को विशेष पहलले सरकारले उक्त बजेट उपलब्ध गराएको हो ।
अरनिको लोकमार्गअन्तर्गत बन्देउदेखि लिपिङसम्मका साँघुरो सडक चौडा पार्न, पहिरो व्यवस्थापन मर्मतसम्भार र स्तरोन्नती, ध्वास भएका बाटो सुधार गर्न बजेट स्रोत सुनिश्चित भएको सङ्घीय सांसद सापकोटाले जानकारी दिनुभयो । २०७१ सालको जुरे पहिरो, ०७२ को भूकम्प, ०७३ को बाढीपहिरोले खण्डहर र जीर्ण बनेको उक्त सडकखण्ड स्तरोन्नतीका लागि ठेक्का प्रक्रिया अगाडि बढेको सडक विभागले जनाएको छ ।
बन्देउ–लिपिङखण्ड सबैभन्दा जोखिम सडकखण्ड बनेको छ । उक्त बजेटले उक्त खण्डले पुर्नजीवन पाउने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सडक विभागसँग सो सडकखण्ड स्तरोन्नतीका लागि निरन्तर सम्पर्क र पहल गरेर मान्य सापकोटाले तीन अर्ब बजेट स्रोत सुनिश्चित गर्नुभएको थियो ।
उक्त सडकखण्ड पुनर्निर्माणमा अनेकखाले राजनीतिक र प्रशासनिक चुनौती उत्पन्न भएका थिए ।
अर्थ मन्त्रालयले माघ ६ गते मन्त्रिस्तरीय निर्णयले बन्देउ–लिपिङखण्ड स्त्तरोन्नतिका लागि तीन अर्ब बजेट स्रोत सुनिश्चित गरेको सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले बताउनुभएको छ । आवश्यक रकम चार अर्ब ९२ करोड थियो । सडक विभागले चार वटा प्याकेजमा सडक स्तरोन्नती गर्न लागि रहेको छ । स्तरोन्नतीअन्तर्गत बन्देउदेखि बाह्रबिसेमा एउटा प्याकेज, बाह्रबिसेदेखि लिपिङसम्म अर्को प्याकेज र पहिरो नियन्त्रणअन्तर्गत कोठे, जुरे र डाक्लाङ, चाकु अर्को प्याकेजमा काम हुने सडक विभागले जनाएको छ । चालु आर्थिक वर्षमै ३९ करोडका काम हुने छ । केही सातामै ठेक्का प्रक्रियाको बोलपत्र आह्वान हुन लागेको छ ।