यदुप्रसाद भट्ट
मनाङ, चैत १३ गते ।
झल्को लाली ओठको, झल्को लाली ओठको
बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको ।
कर्णालीमा बाटो पुग्दा भुइँमा खुट्टा छैन
मायालुलाई भेट्न जान कुनै चिन्ता होइन ।
गायक मिलन लामा र देवी घर्तीमगरको स्वर रहेको यो गीतमा कर्णाली प्रदेशको सन्दर्भ जोडिएको भए पनि कर्णाली जस्तै दुर्गम मनाङमा बस पुग्दा यहाँका बासिन्दाले यस्तै झल्को पाएका छन् । यही गीतको झल्को दिने गरी बेँसीसहर–पोखरा चल्ने ना. ६ ख ९५७९ नम्बरको बस पहिलो पटक मनाङ पुगेको छ । यद्यपि यो बस व्यावसायिक रूपमा नभई रिजर्भमा मनाङ पुगेको हो । अब यही गीतले भने झैँ मनाङ पुगेर सहजै मायालुलाई भेट्न पाइने आसमा मनाङवासी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय मनाङले लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालन गर्ने तयारी गरेको थियो । त्यसैको तयारी स्वरूप बाटोको अवस्थाबारे अनुगमन गर्दै सो बस मनाङ पुगेको हो । बस सञ्चालकले मनाङसम्मको यात्रा गर्दा सहज रूपमै आइपुगेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले भन्नुभयो, “सम्भवतः नयाँ वर्ष २०८२ देखि मनाङमा सार्वजनिक रूपमा २८ सिटे बसहरू सञ्चालन हुने छन् ।”
यसअघि मनाङमा पाँच सिट क्षमताका पिकअप जिप मात्र सञ्चालन हुने गरेकाले यात्रुले कष्टपूर्ण यात्रा गरिरहनुपरेको अवस्था रहेको छ । यसले पर्यटकीय मौसममा यात्रुले सहज रूपमा सवारीसाधन प्राप्त नगर्ने, भाडादर महँगो तिरेर यात्रा गर्नुपर्ने, सवारीसाधनको पछाडि बसेर असुरक्षित यात्रा गर्नुपरेको अवस्था रहेको र स्थानीयले छोटो दुरीको यात्रा तय गर्न सवारीसाधन प्राप्त गर्न नसक्ने अवस्था रहेको प्रजिअ आचार्यले बताउनुभयो ।
यातायातलाई व्यवस्थित, सुलभ र सरल रूपमा सञ्चालन गरी मनाङका बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटक र कर्मचारीलाई सहुलियतपूर्ण यात्राको सुनिश्चित गर्न बस सञ्चालन आवश्यक देखिएकाले लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने तयारी भएको हो । उहाँले भन्नुभयो, “यही १५ गते शुक्रबार लमजुङबाट बससहितको टोली आउँदै छ, सम्बद्ध जिल्लाका सबै कार्यालयका प्रमुख, गाउँपालिकाका अध्यक्ष राखेर उहाँहरूसँग समन्वयात्मक बैठक बस्ने छ, नयाँ वर्षबाट बस सञ्चालन गर्ने हाम्रो लक्ष्य हो । यद्यपि यसको टुङ्गो भने १५ गते शुक्रबार हुने भेलाले लगाउने छ ।”
सडकको अवस्थाबारे प्रजिअ आचार्यले मनाङ जलविद्युत् आयोजनाले घुम्तीहरूमा सडक चौडा पार्ने कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले ३२ सिटे गाडी चलाउन कुनै समस्या नपर्ने व्यवसायीले आफूलाई सुझाएको बताउनुभयो । यसअघि सङ्खुवासभाबाट सरुवा भएर आएका सैनिक कर्मचारीलाई नेपाली सेनाको दुई/तीन वटा बसले सजिलैसँग मनाङ पुर्याइसकेको छ । लमजुङ कालिका यातायात प्रालिले बस पठाएर ती बस चामे आएर पनि गइसकेको अवस्था रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
अप्ठ्यारो रहेका एक/दुई ठाउँमा सडक मर्मत गरी सञ्चालनको तयारी भएको छ । यातायात कार्यालयबाट रुट निर्धारण र भाडादर तोक्ने दुई वटा काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ । यसअघि मनाङ सदरमुकाम चामेमा २०७५ चैत दोस्रो साता मिनीबस पुगेको थियो । बेँसीसहर–बाहुनडाँडा चल्ने उक्त बस पुगेर फर्किएपछि यात्रुवाहक बस हालसम्म मनाङ पुगेको थिएन । अहिले सडकको अवस्था सुधार हुँदै गएकाले बस सञ्चालन गर्न सकिने प्रजिअ आचार्यले बताउनुभयो ।
नेपाली सेनाले १० वर्ष लगाएर निर्माण गरेको सडक २०६९ सालमा सडक विभागलाई जिम्मा लगाएपछि मनाङमा पिक जिप गुड्न थालेको हो । हिजोआज उक्त सडकमा ट्रकसमेत गुड्न थालेको छ । करिब ६५ किलोमिटर रहेको बेँसीसहर–चामे सडकखण्डको खुदीसम्मको सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अप्ठ्यारो सडक धेरै ठाउँमा ढलान तथा स्तरोन्नति भइसकेको मनाङ प्रशासनले जनाएको छ ।
फागुन तेस्रो हप्ता प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले मनाङमा सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने निर्णय गरेको थियो ।