• १६ चैत २०८१, शनिबार

सवारी दुर्घटना

आठ महिनामा दुई सय चौबिस जनाको मृत्यु

blog

बबई समाचारदाता

बर्दिया, चैत १३ गते । बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा बर्दियामा कुल ८० वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने ९९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

यस आवको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने आठ महिनामा ठुला र साना गरी कुल २२६ सवारीसाधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा २२४ जनाले ज्यान गुमाएका छन् भने ३१३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सङ्कलन गर्ने राजस्वमा भने कमी आएको देखिन्छ । आव २०८०/८१ मा १८ हजार ८१ सवारीसाधनलाई कारबाही गर्दा कुल एक करोड १२ लाख पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ । 

आव २०८१/८२ को फागुन मसान्तसम्म छ हजार एक सय सवारीसाधनलाई कारबाही गर्दा जम्मा राजस्व ४८ लाख सात हजार रुपियाँ सङ्कलन भएको छ । जुन गत वर्षको तुलनामा निकै कम राजस्व सङ्कलन भएको हो । 

ट्राफिक प्रहरी कार्यालय बर्दियाले सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना भने गत वर्षको तुलनामा यस वर्षको आठ महिनामा निकै बढेको देखिन्छ । विगतका वर्षमा ससाना दुर्घटनाको तथ्याङ्क नराख्ने गरिएको र बिमा कम्पनीले तथ्याङ्क माग्न सुरु गरेपछि ससाना दुर्घटनाको पनि तथ्याङ्क राख्दा दुर्घटना सङ्ख्या धेरै देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी निरीक्षक सुधीर शाहीले बताउनुभयो । 

बर्दिया जिल्लामा यस आवको आठ महिनामा भित्री सडकखण्डमा बढी दुर्घटना भएको र त्यसपछि हुलाकी सडकमा हुने दुर्घटनामा बढी मानिसको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा भने सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या भने कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी कृष्ण डिसीको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गत आवमा ५७९ स्थानमा र यस आवको फागुन मसान्तसम्म ३७६ स्थानमा दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।