• १६ चैत २०८१, शनिबार

डोल्पामा पाठ्यपुस्तक पठाइँदै

blog

खजुरा समाचारदाता

खजुरा, चैत १३ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा नयाँ शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक पठाइएको छ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले कर्णालीको हिमाली जिल्ला डोल्पाका लागि आइतबारदेखि पुस्तक वितरण सुरु गरिएको बताउनुभयो । यसअघि पहिलो चरणमा कर्णालीको हुम्लाका लागि पाठ्यपुस्तक वितरण भइसकेको उहाँले जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक कर्णाली र लुम्बिनीका जिल्लामा वितरण गर्नका लागि फागुनको पहिलो हप्तामै नेपालगन्जस्थित गोदाममा आइपुगेको उहाँले बताउनुभयो । 

“लुम्बिनी र कर्णालीका केही जिल्लाका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ, प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लामा क्रमशः पुस्तक वितरण गर्दै छौँ,” प्रमुख ढुङ्गेलले भन्नुभयो, “केही दिनअघि कर्णालीको हुम्लाका लागि पुस्तक वितरण गरिसकेका छौँ । हुम्लाका तीन जना विक्रेता आएर त्यहाँ आवश्यक पुस्तक लगिसक्नुभएको छ । आजदेखि डोल्पाका लागि पठाउँदै छौँ ।”

प्रमुख ढुङ्गेलका अनुसार डोल्पाको ठुलीभेरी नगरपालिकाका दुई र मुड्केचुला गाउँपालिकाका एक गरी आइतबार तीन जना पुस्तक विक्रेतालाई पाठ्यपुस्तक वितरण सुरु गरिएको हो । सबै पाठ्यपुस्तक सेटमा नै रहेकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । 

नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच गरी १० जिल्लामा 

पाठ्यपुस्तक वितरण हुने गरेको उहाँले बताउनुभयो ।

गत वर्ष नेपालगन्ज कार्यालयबाट १० जिल्लामा १९ करोड ६० लाख ५० हजार ६२६ रुपियाँ बराबरका १४ लाख ४६ हजार १६ थान पाठ्यपुस्तक वितरण गरिएको र यो वर्ष करिब १६ लाख थान पुस्तक वितरण गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।