• १३ चैत २०८१, बुधबार

सानै उमेरमा गरेको विवाहले पछुतो

blog

सानैमा विवाह गर्नुभएका लालपौडा सार्की ।

बाजुरा समाचारदाता

बाजुरा, चैत १३ गते । बाजुरामा बालविवाह गर्ने चलन अझै हटेको छैन । यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनले धेरै पटक चेतनामूलक कार्यक्रम गरे पनि अभिभावकको संरक्षण र बालबालिकाको मिलेमतोमा बालविवाह गर्ने चलन कायम रहँदै आएको हो । यसरी सानै उमेरमा विवाह गर्दा यहाँका अधिकांश महिलाले जीवनभर पछुताउने गरेका छन् । यसैको एक उदारहण हुन् लालपौडा सार्की । 

जगन्नाथ गाउँपालिका–६, काप्री सियालीकी लालपौडाकी सार्की आफूले सानै उमेरमा गरेको विवाहले जीवनभर पछुताउनु परेको बताउनुहुन्छ । 

उहाँले २०७२ मा १५ वर्षकै उमेरमा जगन्नाथ गाउँपालिका–६ का काप्री सियालीका नन्दराम सार्कीसँग विवाह गर्नुभएको थियो । सानै उमेरमा माइतमा टुहुरी बनेकी सार्कीले विवाहपछि केही सुख पाउने आशा गर्नुभएको थियो तर विवाह गरेको केही वर्षमै उहाँका श्रीमान् नन्दराम सार्कीको मृत्युभयो ।

सानै उमेरमा साहुको घरमा गाईगोरु चराउँदै बाल्य अवस्थामा हुर्किंदै गरेकी उहाँले विवाहपछि फेरि निकै ठुलो दुःख पाउनुभयो । विवाह गरेको नौ वर्षमै श्रीमान्को मृत्यु भएपछि सार्की अहिले एकल हुनुहुन्छ । उहाँले भन्नुभयो, “त्यतिबेला आफू सानै भएँ । जसले जे भन्यो त्यही राम्रो लाग्यो । त्यसैले अरूकै कुरामा मैले पनि सुख पाउँछुकी भनेर विवाह गरेकी हुँ  ।”

एकल भएपछि अहिले आफूलाई सासूससुराले समेत घरबाट निकालिदिएको उहाँले बताउनुभयो । अहिले लालपौडा २६ वर्षकी हुनुभयो । उहाँका दुई जना छोराछोरी छन् । छोरी गर्भमा भएकै बेलामा उहाँका श्रीमान्को गाउँमाथि रहेको वनमा रुखमा च्यापिएर मृत्यु भएको हो । आफूले पनि सानै उमेरमा आमाबुवा गुमाएकी सार्कीका छोरा र छोरीले पनि सानै उमेरमा बुवा भन्ने शब्द नै गुमाउनु प¥यो । गाउँमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनमा छन् तर उहाँले यो कार्यक्रममा काम पाउनुभएको छैन । गाउँका अरूले घरमै काम पाउने गरेका छन् तर सार्कीका लागि भने गाउँमा केही काम मिलेको छैन । एकल महिलाले काम गर्न सक्दैन भनेर मलाई यो कार्यक्रममा काम नदिने गरेको सार्कीले गुनासो गर्नुभयो ।