नेपालको मौसमी विवरण अनुसार चैत, वैशाख, जेठ र असार महिना चट्याङ धेरै पर्ने महिना हुन् । सन् २०१९ देखि २०२४ सम्मको समयमा चट्याङका कारण ३७२ जनाले ज्यान गुमाएका छन् । योसँगै करौडौँ रुपियाँको आर्थिक क्षति भएको राष्ट्रिय विपत् जोखिम तथा न्यूनीकरण प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा १०८ र सबैभन्दा कम कर्णाली प्रदेशमा र जिल्लागत रूपमा चट्याङको कारण उच्च मृत्युदर भएका जिल्लाहरू दोलखा, ओखलढुङ्गा, रामेछाप, नुवाकोट र मकवानपुर हुन भने कम मृत्युदर भएका जिल्लाहरू डोल्पा, बझाङ, हुम्ला, दार्चुला र मुस्ताङ हुन् ।
विशेषतः हिउँदे वर्षा र पूर्वमनसुनको समयमा धेरै पर्ने चट्याङको कारण क्षति सबै जस्तो मौसममा हुने गरेको छ । यस वर्षको हिउँदे वर्षामा औसतभन्दा पानी अत्यधिक कम परेको छ । औसतमा ७० देखि १०० मिलिमिटर पानी पर्ने गरेको हिउँदको समयमा हालको वर्ष चाहिँ अत्यन्तै न्यून जस्तै रह्यो । यो फेब्ररी महिनामा केवल १० मिमि वर्षा भएको तथ्याङ्क छ । सन् २०२१ मा एक अमेरिकन जर्नलमा प्रकाशित तथ्याङ्क अनुसार सन् १९७१ देखि २०१९ सम्मको विश्लेषणमा दुई हजार ५०१ चट्याङका घटना रिपोर्ट गरिएको थियो । जसमा एह हजार ९२७ मानिसको मृत्यु भयो भने २० हजार ५९६ मानिस प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए । पछिल्लो दस वर्षमा चाहिँ आठ सयभन्दा बढी मानिसको ज्यान लिएको चट्याङको समय यो वर्ष पनि आएको छ । सुन्दा सामान्य लाग्ने यो मौसमीय विपत्तिको कारक नियमित रूपमा जनधनको क्षति हुने गरेको छ ।
जलवायु सम्बन्धित प्राकृतिक विपत्तिका विविध रूपमध्येको एक रूप चट्याङ हो । चट्याङको कारण एक पटक ठुलो सङ्ख्यामा मानिसको मृत्यु नहुने भएको हुनाले मात्र यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कमी हुने गरेको छ । सँगै यसबाट हुने क्षति जङ्गल नजिक, ग्रामीण क्षेत्रमा हुने र घटना भएको तत्काल त्यसको तथ्याङ्क र घटनाको विवरणसमेत नआउने हुनाले नियमित रूपमा पर्ने गरेको असरहरू पनि न्यून चर्चामा आउँछन् । हाम्रो देशका कतिपय ग्रामीण भेगमा चट्याङको क्षति सञ्चार माध्यममा आइपुग्दा त बासी भइसकेका हुन्छन् । त्यस कारण पनि ती क्षतिलाई ठुलो रूपमा लिइँदैन अनि चट्याङ जस्तो विपत्तिको रोकथाम, नियन्त्रण र बच्ने उपायबारे ग्रामीण भेगसम्म पुग्ने गरेर चर्चा पनि हुँदैन ।
चट्याङ पनि एक जलवायु सम्बन्धित प्राकृतिक जोखिम हो । चट्याङ एउटा शक्तिशाली विद्युतीय प्रवाहको कारण हुने जोखिम हो । यसमा प्रवाह हुने विद्युतीय शक्तिको तापक्रम सूर्यको सतहको तापक्रमभन्दा तीन गुणाभन्दा बढी करिब ९० हजार डिग्री सेन्टीग्रेड तापक्रमसम्म हुने गर्छ । यो अपार विद्युतीय शक्ति दुई वा दुईभन्दा बढी बादलको गर्जनको कारण उत्पन्न हुन्छ । दुई वा दुईभन्दा बढी बादलको ठोक्किने प्रक्रियाबाट गर्जनसँगै असीमित विद्युतीय प्रवाह वायु मण्डलमा हुने गर्दछ । यो बादल ठोक्किने पक्रिया एउटै बादलभित्र वा दुई वटा फरक–फरक बादलसँग र कहिलेकाहीँ बादल र जमिनसँग पनि हुने गर्छन् । यसरी ठोक्किएर निस्किएको विद्युतीय प्रवाह वायुमण्डलमा मात्र सीमित रहेको अवस्थामा खतराजन्य नहुन सक्छ तर जब सो विद्युतीय प्रवाह पृथ्वीसम्म आइपुग्यो भने मानवीय क्षतिसँगै अरू क्षति पनि हुन सक्छ । यसरी ठोक्किएर चट्याङ पर्ने बादललाई कुमुलोनिम्बस बादल भनिन्छ । यो वायुमण्डलमा ठोक्किन्छ र मानिसले देख्न मात्र सकिन्छ । बादल र जमिनको ठोक्काइबाट हुने चट्याङले मानवीय क्षति गर्ने गर्छ । चट्याङ पर्ने बारम्बार पछिल्लो समयमा बढ्दै गएको कुरा पछिल्लो तथ्याङ्कले बताउँछ । वार्षिक रूपमा चट्याङको कारण एक सयभन्दा बढीको मृत्यु हुने कुरा गृह मन्त्रालयको तथ्याङ्कले जनाउँछ । मृत्युबाहेकका क्षतिको यकिन विवरण नै छैन । तथापि यसको मूल्यचाहिँ धेरै नै हुन सक्छ ।
वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । चट्याङको वैज्ञानिक आधार चाहिँ विद्युतीय प्रवाह हो । जुन विद्युत् धनात्मक र ऋणात्मक चार्जयुक्त बादल ठोक्किने प्रक्रियाबाट हुन्छ । वायुमण्डलमा नियमित रूपमा हुने यस्तो विद्युतीय प्रवाह तब मात्र क्षतिको कारण बन्छ, जब यो जमिनसम्म आइपुग्छ । वायुमण्डलमा उत्सर्जित भएको विद्युतीय प्रवाह जमिन वा बस्तीसम्म आएपछि त्यसको कारणले नै क्षत पु¥याउँछ । सामान्यतयाः वायुमण्डलमा बादलको उचाइ केही मिटरदेखि दश किलोमिटर उचाइसम्म हुने गर्छ । यदि मानवीय माध्यम जस्तो घर, भवन, विद्युतीय पोल तथा अन्य टावरहरू साथै अग्ला रुखहरू पनि वायुमण्डलमा हुने विद्युतीय प्रवाहलाई जमिनसम्म ल्याई पु¥याउने माध्यम बन्न सक्छ । भवन, रुख, टावर वा विद्युतीय पोलहरू नजिकै मानवीय बस्ती छ भने त्यस्तो प्रवाहले मानिसको ज्यान लिने तथा अरू मानवीय सुख, सुविधालाई असर गर्ने गर्छ । यसबाहेक कतिपय आकाशमा उडिरहेका जहाजहरू पनि चट्याङको कारण दुर्घटनामा परेका तथ्यहरू अगाडि आएका छन् । कहिलेकाहीँ विद्युतीय ट्रान्सफर्मर र दूरसञ्चार टावरहरूमा चट्याङ पर्दा सो टावर र टावरसँग जोडिएका व्यक्तिगत विद्युतीय सामग्रीहरूमा पनि क्षति पुर्याएको हुन्छ ।
चट्याङको यथार्थ पूर्वभविष्यवाणी प्रणाली अहिलेसम्म विकसित भएको छैन । तथापि अति सुक्ष्म समयका लागि भविष्यवाणी गर्ने सेन्सरहरू पनि बजारमा पाइने गरेका छन् । चट्याङपश्चात् कहाँ यसले क्षति पु¥यायो भनेर मापन गर्ने संवेदकहरूको चाहिँ उपलब्धता हुन्छ । जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट चट्याङलाई मापन गर्नका लागि मुलुकका नौ स्थानमा त्यस्ता सेन्सरहरू जडान गरी अनुगमन सुरु गरेको छ । विश्व बैङ्कको सहयोगमा विभागले तुम्लिङटार, विराटनगर, सिमरा, भैरहवा, काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा त्यस्ता सेन्सर राखेको छ । यो सेन्सरले नेपालभरिको चट्याङसम्बन्धी तथ्याङ्क अनुगमन गर्ने गर्छ । यी मापक केन्द्रबाट चौबिसै घण्टा चट््याङको मापन भइरहेको हुन्छ । यसले चट्याङको अनुगमन गरी एथेस्ट सचेतना अपनाउन सजिलो हुने देखिन्छ । यथार्थमा चट्याङको पूर्वभविष्यवाणीको वैज्ञानिक प्रक्रिया नभएको हुनाले सामुदायिक सचेतना नै चट्याङबाट बच्ने उपाय हुन् ।
व्यवस्थित बस्ती प्रणाली र अग्ला भवन, पोल, टावर निर्माण गर्दा विद्युतीय वा पारमाणविक सुरक्षाको प्रबन्ध गर्नु नै चट्याङबाट बच्ने उपाय हो । वैज्ञानिक रूपमा चट्याङबाट बच्नका लागि अर्थिङ प्रणालीको स्थापना गर्नु पर्छ । यसका लागि भवन वा टावर वा पोलको माथिल्लो भागबाट सुचालकको प्रयोग गरी धनात्मक र ऋणात्मक चार्जयुक्त विद्युतीय प्रवाहलाई जमिनमा पु¥याइ बिसर्जन गराइन्छ । अर्थिङ प्रणालीका लागि सुचालक तार र जमिनमा विसर्जन गर्न खोजिएको विद्युतीय प्रवाहलाई तटस्थ बनाउने केही सुचालक र वरिपरि सुचालक ठोस वस्तुको व्यवस्थित प्रणाली विकास गरिएको हुन्छ । यसले वायुमण्डलमा भएको अधिक विद्युत् प्रवाहलाई विसर्जन गर्छ । यसको साथसाथै अग्ला भवनका निर्माण चट्याङको खतराबाट पनि मुक्त छैन । पोल, टावर र अग्ला भवनको निर्माण गर्दा अर्थिङ प्रणाली अत्यावश्यक पर्छ । ग्रामीण भेगमा अग्ला रुखहरू नजिक बासस्थान नबनाउने, घरहरूको निर्माण नगर्ने र नबस्ने केही पूर्वसावधानी हुन् । बिजुली चम्किने र चट्याङ पर्ने समयमा जङ्गलमा वा अग्लो रुख भएको स्थानमा नजाने र त्यहाँको यात्रा नगर्ने नै हो । सँगसँगै जङ्गल, वन क्षेत्र नजिकको क्षेत्रमा घर, बस्ती निर्माण नगर्नु नै श्रेयस्कर हुने गर्छ । पानी परेको अवस्था तथा चट्याङ पर्ने समयमा धातुका पोल र धातुजन्य वस्तु, विद्युतीय सञ्चालन भएका उपकरण र अरू इलेक्ट्रोनिक्स सामानको प्रयोग नगरिकन बस्ने तथा त्यस्ता सामग्रीबाट टाढा रहने गर्नु पर्छ ।
मूलतः चट्याङ पर्ने समयमा अग्ला तथा धातुका सामाग्रीभन्दा टाढा रहनुपर्ने हुन्छ । कहिलेकाहीँ चट्याङको कारणले ठुला ठुला प्राकृतिक आगलागीको कारण पनि बनेको हुन्छ । यस्तो आगलागीले ठुलो धनजनको क्षति हुने गर्छ । नेपालमा प्राकृतिक आगलागीका प्रमाणहरू नभेटिए पनि विश्व वन क्षेत्र क्षति गरेको पाइन्छ । साधारणतयाः बर्सात र कालो कुमुलोनिम्बस नामक बादलको अधिकता आकाशमा भएको बेलामा चट्याङको सम्भावना उच्च हुन्छ । त्यस कारण त्यस्तो समयमा यदि घरभित्र हो भने विद्युतीय सरसामानको प्रयोग नगर्ने र चिसो भएर नबस्ने जस्ता व्यक्तिगत सुरक्षाका तरिका छन् । तथापि समग्र चट्याङको जोखिमलाई न्यूनीकरणका लागि व्यक्तिगत, सामुदायिक र राष्ट्रिय स्तरमा सचेतना जगाउनु आवश्यक पर्छ । व्यक्तिगत, स्थानीय, सामुदायिकसँगै राष्ट्रिय स्तरमा पनि चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पहल हुनु जरुरी छ ।