उर्लाबारी समाचारदाता
उर्लाबारी, चैत १३ गते । एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन यो सडक २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको थियो ।
आयोजना निर्देशनालय (एडिबी) का निर्देशक चुडाराज ढकालले यो अवधिमा २० प्रतिशत भौतिक प्रगतिको अपेक्षा गरिएको भए पनि सोचे अनुसार प्रगति नभएको बताउनुभयो । ग्रामीण र जङ्गल क्षेत्रमा लक्ष्य अनुसार नै प्रगति भइरहेको छ तर सहरी क्षेत्रमा विद्युत् पोल र घरटहरा हटाउन धेरै झमेला भइरहेकाले प्रगति सन्तोषजनक नभएको हो । यद्यपि अघिल्ला तीन महिनाभन्दा भौतिक प्रगतिदर बढ्दै गएको निर्देशक ढकालले बताउनुभयो ।
सरकारले ऋण लिएर सडक निर्माण गरिरहेकाले अर्बौं रुपियाँ खर्च भइरहेको छ । स्थानीय उपभोक्ताले भने सडक पूर्वाधारमा लगानी भएको विषय बुझेको देखिँदैन । काँकडभिट्टाबाट इटहरीको दुरी पार गर्न साढे दुई घण्टा लाग्छ । एक घण्टामा यो दुरी पार गर्न सकियोस् भनेर सडक विस्तार गरिएको निर्देशक ढकालले जानकारी दिनुभयो ।
आयोजनाको पश्चिम कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) अन्तर्गतको प्याकेज नम्बर २, ३ र ५ को भौतिक प्रगति व्रmमशः १८, ९ र १५ प्रतिशत रहेको छ । यस्तै वित्तीय प्रगति व्रmमशः १५, ७.५ र १२.५ प्रतिशत रहेको छ । प्याकेज नम्बर ५ अन्तर्गतको मुख्य पुलको फाउन्डेसनको पाइल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको जमिनमुनिको काम वर्षायाम सुरु हुनुअगावै सक्ने गरी काम भइरहेको योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो । त्यसै गरी प्याकेज नम्बर २ अन्तर्गतको सबै साना पुलहरूको पाइल निर्माण सकिएको छ । प्याकेज नम्बर ३ मा केही पाइल निर्माण गर्न बाँकी छ । उहाँले भन्नुभयो, “सडकको दुवै प्याकेजमा साइड ड्रेन, रिटेनिङ वाल, कलभर्ट, माटो फिलिङ र सबबेसको कार्य तीव्र गतिमा भइरहेको छ । प्याकेज दुईको बेलबारीपूर्व सुनझोडासम्मको बजारबाहेक जङ्गल क्षेत्रमा बर्सातअगाडि नै कालोपत्रे गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । सडकमा पर्ने ३९ वटा कलभर्ट निर्माण भइसकेका छन् भने ५२ वटा कलभर्ट निर्माणाधीन अवस्थामा रहेका छन् ।