• १४ चैत २०८१, बिहिबार

राङ्गभाङ्गमा नयाँ स्वास्थ्य चौकी भवन

blog

राङ्गभाङ्गमा स्वास्थ्य चौकी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, चैत १२ गते । बिरुवा गाउँपालिका-३ को राङ्गभाङ्गमा स्वास्थ्य चौकी भवनको निर्माण गरिएको छ । वडामा आफ्नै व्यवस्थित स्वास्थ्य चौकी र राम्रो सेवा नहुँदा यहाँका स्थानीय सेवाग्राही स्याङ्जा तथा पोखरा पुग्नुपर्ने बाध्यता थियो । 

चौकी बनेसँगै अब यहाँ ल्याब सहितका सबै स्वास्थ्य सेवाहरु वडाबासी र पायक पर्ने पुतलीबजार वडा नं १, २ का नागरिकले सहज रुपमा निःशुल्क प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो । 

यो भन्दा पहिला जिर्ण भवनबाट सामान्य स्वास्थ्य सेवा पाउने गरेकोमा अब भने सबै सेवा पाउने छन् । भवन नेपाल सरकारको विशेष अनुदानमा एक करोड ३९ लाख १२ हजार ६०८ रुपियाँमा निर्माण गरिएको हो । 

आर्थिक वर्ष २०८०-०८१ म ८० लाख र आर्थिक वर्ष २०८१-०८२ मा एक करोड १० लाख गरी  कूल एक करोढ ९० लाख बजेट विनियोजन भएको थियो ।

विनियोजित बजेटमा पालिकाले थप गरेर भवन निर्माणका लागि एक करोड ९९ लाख ८३ हजार ३१५ रुपियाँको लागत अनुमानमा ठेक्का आव्हान गरेको थियो । 

निर्माण व्यवसायीले २०८० फागुन ८ गते २०८१ पुस २१ मा सम्पन्न गर्ने गरी लामागे विल्डर्स प्रालिले सम्झौता गरेकोमा समयमै काम सकेको हो । स्वास्थ्य चौकी भवनका तीन रोपनी ११ आना एक दाम क्षेत्रफल जग्गा व्यवस्थापन गरेर निर्माण गएिको हो । भवन निर्माण गरिएको जग्गा स्थानीय दाताहरुबाट दुई रोपनी १५ आना निःशुल्क प्राप्त भएको हो । 

निर्माण भएको भवन दुई तल्ले १६ कोठाको सुविधायुक्त रहेको प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य बताउनुभयो । यस्तै वडा नं ६ चिन्नेबासमा आगामी वर्षदेखि सञ्चालनमा आउनेगरी अस्पतालको काम अगाडि बढिरहेको आचार्यले बताउनुभयो ।