• १३ चैत २०८१, बुधबार

शैक्षिक उन्नयनमा रत्नराज्य

blog

नेपालको शिक्षा व्यवस्थामा सामुदायिक विद्यालय महत्वपूर्ण स्तम्भ हुन् । नेपालको शिक्षा प्रणालीमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण छ । विशेष गरी ग्रामीण क्षेत्रमा यी विद्यालय नै बालबालिकाका शिक्षाका आधार हुन् । गाउँ गाउँमा फैलिएका यी विद्यालयले गरिबी र भौगोलिक चुनौतीबिच पनि बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै नेपालको शैक्षिक पहुँचलाई विस्तार गर्ने काम गर्दै आएका छन् । नेपालको संविधान, २०७२ ले निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिदिएपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रूपमा बढेको पाइन्छ । यसै गरी स्थानीय सरकारले पनि विद्यालय सुधारका लागि बजेट र योजना प्राथमिकतामा राखेका छन् । नेपालको राजधानी र सबैभन्दा बढी जनघनत्व भएको सहर काठमाडौँका सामुदायिक विद्यालयले सहरी क्षेत्रमा शिक्षाको पहुँच विस्तार गरेका छन् । सामाजिक आर्थिक विविधता भएका परिवारका बालबालिकालाई शिक्षा उपलब्ध गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

काठमाडौँको मध्यबानेश्वर क्षेत्रमा अवस्थित रत्नराज्य माध्यमिक विद्यालय प्रतिष्ठित सामुदायिक विद्यालय हो । विसं २०१८ मा स्थापना भएको यस विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल बन्दै गइरहेको छ । देशका ७७ वटै जिल्लासँगै छिमेकी राष्ट्र भारतका अत्यधिक विद्यार्थी अध्ययनरत यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहनुका साथै यसले आफ्नो भौतिक पूर्वाधार पनि सक्षम बनाउँदै गइरहेको छ । यस विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सञ्चालन हुनुका साथै विगतमा भन्दा पढाइको स्तर सुधार हुँदै गएको छ । विद्यालयप्रतिको आकर्षण बढ्दो छ, जसलाई यहाँ रहेको विद्यार्थीको सङ्ख्याले पनि पुष्टि गर्छ ।

विद्यालय एक जनाले मात्र राम्रो बनाउन सकिँदैन । यसका लागि राम्रो समूह जरुरी छ । यस विद्यालयमा शिक्षकको राम्रो समूह भएकाले विद्यालयले राम्रो नतिजा ल्याउन सफल भइरहेको छ । शिक्षकको आचरणले शैक्षिक गुणस्तर निर्धारण गर्छ । यहाँका शिक्षकको आचरणमा समर्पण, नियमित उपस्थिति, विद्यार्थीप्रति सहयोगी दृष्टिकोण एवं नवीन शिक्षण विधिको प्रयोग जस्ता पक्ष रहेकाले पनि रत्नराज्यको शिक्षा प्रभावकारी रहेको हो । विगत छ दशकदेखि उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले विसं २०४३ मा सम्पन्न एसएलसी परीक्षाको नतिजामा बोर्ड फस्र्ट र २०४४ सालको नतिजामा बोर्ड तेस्रो भएको थियो । यस वर्षको एसइई परीक्षामा सम्मिलित २५३ विद्यार्थीमध्ये दुई विद्यार्थीले ४.० जिपिए ल्याएका छन् भने १२ जना विद्यार्थीले ३.९ जिपिए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट जिपिए ल्याएर विद्यालयको मात्र नभई समग्र सामुदायिक विद्यालयको गरिमा पनि यस विद्यालयले उच्च बनाएको छ ।

विद्यालयमा करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् भने र ८० जना शिक्षकसहित हाल १०३ जना कर्मचारी कार्यरत छन् । विद्यार्थी सङख्या उच्च रहेकाले हाल एउटै कक्षामा ६५ देखि ७५ जनाको हाराहारीमा विद्यार्थी राखेर पठनपाठन भइरहेको छ । शिक्षकशिक्षिका हेडफोन स्पिकरसहित कक्षाकोठामा उपस्थित हुने गरेका छन् । सरकारले सामुदायिक विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विद्यालयलाई अनुदान, शिक्षक प्रशिक्षण र आधारभूत संरचना विकास गर्ने नीति ल्याएको छ । यस अन्तर्गत विद्यालयले स्मार्ट बोर्ड पनि पाउने भएपछि विद्यार्थीलाई प्रविधिको नवीनतम प्रयोगबाट शिक्षण सिकाइ गर्न यहाँका शिक्षक उत्सुकसमेत छन् । प्रविधिलाई आत्मसात् गर्दै प्रायोगिक सिकाइका माध्यमबाट विद्यार्थीले यहाँका संस्कृति, सम्पदा एवं संस्कार पनि सिक्दै आइरहेका छन् । काठमाडौँ महानगरपालिकाको स्थानीय विषय नेपाल भाषाको पठनपाठनलाई पनि यस सिकाइ माध्यमले सहजीकरण गरेको छ । विद्यालयले विद्यार्थीलाई काठमाडौँको स्थानीय सम्पदा एवं संस्कृतिको जानकार बनाउँदै लगेको छ ।

निजी विद्यालयमा विज्ञान अध्ययन गर्न लाग्ने ठुलो खर्च बेहोर्न नसक्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर गत वर्षदेखि यस विद्यालयले विज्ञान विषयको प्लस टु सञ्चालन गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । कम्तीमा ३.२ जिपिए ल्याएका विद्यार्थीले प्रवेश परीक्षा दिएर उत्तीर्ण भएपछि मात्र विज्ञान विषय पढ्न पाइने व्यवस्था लागु गरिएको छ । २०८० सालमा यसै विद्यालयबाट ३.९ जिपिए ल्याएका विद्यार्थी पनि हाल कक्षा ११ मा अध्ययन गरिरहेका छन् । विद्यार्थीबाट वार्षिक रूपमा न्यून रकम (३० हजार) मा नै विज्ञान विषयको गुणस्तरीय शिक्षा विद्यालयले दिँदै आएको छ । विज्ञानबाहेक व्यवस्थापन र शिक्षा सङ्कायमा बिहानी सत्रको प्लस टु सञ्चालन भइरहेको छ भने यसका लागि ४८ जना शिक्षक कार्यरत छन् । 

विद्यालयमा विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिएर ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत नर्सले विद्यार्थीको स्वास्थ्य एवं स्वस्थ वातावरणमा ध्यान दिँदै आएका छन् । विद्यार्थीलाई स्वस्थ खाना खुवाउन र पत्रु खानाबाट टाढा राख्न विद्यालयले सफा क्यान्टिनबाट प्रत्येक दिन कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई निःशुल्क खाजा खुवाउँदै आएको छ । यस कार्यमा काठमाडौँ महानगरपालिकाको अनुदान सराहनीय छ ।

किताबी ज्ञान मात्रै होइन, व्यावहारिक र बिक्ने शिक्षा आजको आवश्यकता हो । यसैलाई ध्यान दिँदै पढाइसँगै खेलकुद, सङ्गीत, हाजिरीजवाफ, वाचनकला, साहित्य आदि क्षेत्रमा पनि यो विद्यालय उत्कृष्टमध्येको एक हो । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारको बुक फ्री फ्राइडे अन्तर्गत कक्षा ४ देखि ८ सम्म विभिन्न क्लब गठन गरी विद्यार्थीले पढाइसँगै नाट्य, सङ्गीत, नृत्य, चित्रकला, योग, संस्कृति सम्पदा र ट्राफिकलगायतका विषयको ज्ञान लिइरहेका छन् । 

यसै गरी कक्षा ९ मा ‘सिपसँगै प्रविधि’ अन्तर्गत विद्यार्थीले प्लम्बिङ, कार्पेन्टरिङ, इलेक्ट्रोनिक्स, ब्युटिसियन, सिलाइबुनाइ र कलिनरी कक्षाबाट सिप सिक्दै भविष्यमा काम गरी खाने शिक्षासमेत लिइरहेका छन् । नेपालका सामुदायिक विद्यालयले शिक्षाको प्रकाश फैलाउने ऐतिहासिक भूमिका निर्वाह गरिरहेका छन् । समानता, सहभागिता र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षालाई निरन्तरता दिँदै शिक्षकलाई नवीन शिक्षण विधि र क्रियात्मक प्रशिक्षण दिने, विद्यालयको संरचना सुधार्ने तथा डिजिटल कक्षा र ई लर्निङ प्लेटफर्मतिर अग्रसर हुने योजनामा रत्नराज्य मावि रहेको छ । यसलाई शिक्षाको साझा केन्द्र बनाउन सबैको सहयोग अपेक्षित छ ।