• १३ चैत २०८१, बुधबार

गणतन्त्रको विकल्प छैन

blog

मान्छेले विकल्प खोज्दा एक पटक भोगेर ठिक नठानेर फालेको वस्तु वा चिजलाई पुनः विकल्पका रूपमा कुनै पनि हालतमा रोज्दैन । ठिक वा राम्रो ठानिएको असल चिजलाई त उसले फाल्दै फाल्दैन, यो मानवीय प्रवृति हो । यतिबेला दुर्गा प्रसाई जस्ता केही मानिस राजतन्त्र फर्काउन पाए आफूसँग भएको कालो धनलाई सेतो बनाउन सकिन्थ्यो र आफूले गरेका अनगन्ती काला कर्तुत, गल्तीबाट बच्न सकिन्थ्यो भन्ने बुझाइका साथ अरूविरुद्ध गालीगलौजमा उत्रेर राजतन्त्रको वकालत गरिरहेका छन्, जसको कुनै तुक छैन । राजतन्त्र स्थापना गर्न पाए राजतन्त्रको आडमा विगतका गल्ती, कमजोरीबाट मुक्ति पाइने र आउने दिनमा राजालाई रिझाएर मोजमस्ती गर्न पाइने सपना देखेर खुबै बर्बराइरहेका छन् । जे पायो त्यही बक्तै हिँडिरहेका छन् । अरूलाई नराम्रो, गलत, खराब भन्नका लागि पहिले आफू राम्रो, ठिक, असल हुनुपर्ने हो । 

अर्को कुरा दुर्गा प्रसाई जस्ता आफैँमा गलत मान्छेको लहै लहै, उक्साहट, बहकाउमा लागेर सडकमा निस्किएका केही मानिसको भिड देखेर उत्साहित हुनु, मेरो आवश्यकता खड्किएको रहेछ भनेर विश्लेषण गर्नु उचित हो कि होइन ? गम्भीर ढङ्गले सोच्नु जरुरी छ । गलत मानसिकता भएका मान्छेको उक्साहटमा उत्साहित हुनुको पछाडिको परिणाम नसोचिएको गम्भीर पनि हुन सक्छ । डेनिस लेखक ह्यान्स क्रिस्टियन एन्डरसनद्वारा लेखिएको प्रसिद्ध कथा ‘राजाको नयाँ लुगा’ धेरैले पढेको वा सुनेको हुनु पर्छ । कथामा दुई जना ठगले एक राजालाई बुद्धिमान् मानिसले मात्र देख्न सक्ने अदृश्य लुगा सिलाइदिएको बहाना गर्छन् । यथार्थमा राजा नाङ्गै हुँदा पनि मूर्ख भइने डरले कोही पनि सत्य बोल्न चाहँदैनन् तर अन्ततः एउटा सानो बालक सत्य बोल्छ, “राजा त नाङ्गै छन् ।” यसरी उक्त कथामा राजालाई दुई ठगले बेवकुफ बनाएका थिए । बेलैमा विचार गरिएन, बुद्धि पुर्‍याइएन भने के थाहा उक्त कथामा जस्तै नाङ्गै बनाइदिने पो हुन् कि । 

यतिबेला राजाको पालामा मनग्गे फाइदा उठाइरहेकाको चिच्याहट सडकमा छताछुल्ल भइरहेको देख्न पाइन्छ । फेरि पनि जी हजुरी गरेर मोजमस्ती गर्न पाइन्छ कि भन्ने झिनो आशा पलाइरहेको छ उनीहरूमा । यी सबै एन्डरसनको कथाका ठग हुन् । के बुझ्नु जरुरी छ भने २०६२/६३ को जनआन्दोलनमा के अहिले राजा चाहियो भनेर सडकमा चिच्याउने भिड जति मात्र मानिस सडकमा उत्रिएका थिए त ? जसले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको थियो । हामी सबैलाई थाहा छ, काठमाडौँले थेग्न नसक्ने विशाल मानव सागर उर्लिएको थियो । त्यत्तिकै हचुवाका भरमा दुई/चार जनाले चाहेर गणतन्त्र स्थापना भएको होइन । यो कुरा बुझ्नु जरुरी छ, मनन गर्नु जरुरी छ । हो, अपेक्षाकृत परिणाम आउन सकेको छैन तर पनि कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । 

हामीले लामो समय राजतन्त्र भोगेकै हौँ । अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनविरुद्ध आवाज उठाउन पाइँदैनथ्यो, बोल्न पाइँदैनथ्यो, लेख्न पाइँदैनथ्यो, भेला हुन पाइँदैनथ्यो । आवाज उठाउनेहरू जेलमा क्रूर यातनाको सिकार बन्नु पथ्र्यो, बेपत्ता हुनु पथ्र्यो, मृत्युवरण गर्नु पथ्र्यो । जसका कारण जबरजस्त अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन सहेर बस्नु पथ्र्यो । निरङ्कुश पञ्चायती शासनविरुद्ध, राजतन्त्रविरुद्ध कसैले चुँसम्म गर्न पाउँदैनथ्यो । पञ्चायती कालो शासनका मतियारले जे गरे पनि चुपचाप सहेर बस्नुपर्ने अवस्था थियो । वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता, भेला हुन पाउने स्वतन्त्रता जस्ता मानव अधिकारको हनन गरिएको थियो । 

यतिबेला बोल्न, लेख्न पाइएको छ । अन्याय, अत्याचार, शोषण, दमनविरुद्ध खुलेर बोल्न पाइएको छ । आवाज बुलन्द गर्न पाइएको छ । जसले जे गरे पनि सहेर बस्नुपर्ने अवस्था छैन । सञ्चारको अत्यधिक विकासका कारण देशका दूरदराजका पीडित, शोषित मानिसले पनि आफ्ना कुरा राज्यसत्ताको कानसम्म पुर्‍याउने अवसर पाएका छन् । राज्यसत्ताविरुद्ध, राज्य सञ्चालकविरुद्ध, गणतन्त्रविरुद्ध बोल्न छुट दिइएको छ । कहीँकतैबाट, कोहीकसैले बन्देज लगाएको छैन । गणतन्त्र र राजतन्त्रबिचको भिन्नता यही हो । गणतन्त्रको विशेषता यही हो । यो नै गणतन्त्रको ठुलो उपलब्धि हो । पञ्चायती शासनविरुद्ध आवाज उठाउँदा वा निरकुङ्श राजतन्त्रविरुद्ध बोल्दा जुन यातना भोग्नु पथ्र्यो, त्यस्तो यातना त भोग्नु परेको छैन । २०३६/३७ सालको विद्यार्थी आन्दोलनमा निरङ्कुश तानाशाही पञ्चायती शासनविरुद्ध आवाज उठाउँदा वारेन्ट काटिन्थ्यो, समातिनु पथ्र्यो । प्रहरी हिरासत वा खोरमा लगेर हातको नङबाट पिन घुसार्ने, नाङ्गो घुँडाले टेकेर गिट्टीमा हिँड्नुपर्ने जस्ता अत्यन्तै अमानवीय क्रूर यातना दिइन्थ्यो । कतिलाई त जेलभित्र नै मारिन्थ्यो । अन्यायविरुद्ध आवाज उठाउँदा कैयौँ पटक प्रहरीको चरम यातनाको सिकार हुनु पथ्र्याे तर ती सबै अन्यायी चरित्रमा परिवर्तन आएको छ । गणतन्त्र भोग्न पाइएको छ । हो पक्कै पनि सोचे जस्तो, खोजे जस्तो उपलब्धि प्राप्त भएको छैन र पनि आवाज उठाउन पाउने अधिकारबाट त वञ्चित हुनु परेको छैन । जब फेरि केही मान्छेले चाहेको कालो दिनले पुनरावृत्ति गर्छ नि त्यतिबेला दुर्गा प्रसाई जस्ता व्यक्तिको पछाडि लागेर स्याल हुइँयामा दौडने प्रवृत्तिका मानिसले थाहा पाउने छन् राजतन्त्रको निरङ्कुशता कति अप्रिय हुन्छ । हामीले त भोगेर आएका छौँ ।

त्यसर्थ गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । यसो गर्नु भनेको कालरात्रिको पुनरावृत्ति गर्नु हो । आफ्नै खुट्टामा बन्चरो हान्नु हो । बरु गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नका लागि हामी सबै एकजुट भएर लागिपरौँ । यसका लागि राज्यसत्तालाई दबाब दिने काम गरौँ । ‘गणतन्त्रको उपलब्धिलाई संस्थागत गर’ भन्ने नाराका साथ शान्तिपूर्ण आन्दोलन गरौँ । देश हाँक्ने जिम्मा लिएका नेतृत्व वर्ग, राज्य सञ्चालकले आफूलाई सच्याउँदै, अहिलेसम्म भएका कमीकमजोरीलाई सच्याउँदै, त्यसबाट पाठ सिकेर जे गर्नु पथ्र्यो त्यो गर्न नसकेकामा, जे नगर्न पथ्र्यो त्यो गरेकामा आत्मालोचित हुँदै छिटोभन्दा छिटो गणतन्त्रको उपलब्धिलाई संस्थागत गरी देशमा सुशासन कायम गर्दै समृद्ध, सम्मुनत राष्ट्र निर्माणमा अगाडि बढून् । यसैमा सबैको भलो हुने छ । 

अर्को कुरा गणतन्त्र स्थापनार्थ नेपाली आमाका थुप्रै होनहार छोराछोरीले सहादत प्राप्त गरेका छन् । सुन्दर समाज, सुन्दर भविष्यको सपना बोकेर आन्दोलनमा होमिएर सहादत प्राप्त गर्ने ती सहिदको सपनामाथि कुठाराघात गर्ने काम कोहीकसैबाट हुन्छ भने त्यो कुनै पनि हालतमा सह्य हुँदैन । तिनै सहिदको रगतसँग, मृत्युसँग साटिएको गणतान्त्रिक व्यवस्थामा रहेर सुख सुविधा भोगिरहेका र सुख सुविधा भोग्दै गर्दा फेरि पनि गणतन्त्रको विकल्पमा राजतन्त्र खोज्नेले पनि यो कुराको मनन गर्नु जरुरी छ । राजतन्त्र आउने कुरा उनीहरुले भनेजस्तो त्यति सहज छैन । राजतन्त्रको चर्को माग गरिरहँदा यो कुराको पनि हेक्का राख्नु जरुरी छ कि न्याय, समानता र स्वतन्त्रताका खातिर छ दशकदेखि लड्दै आएका, आन्दोलनमा होमिँदै आएका, आन्दोलनमा आफन्त गुमाएका लाखौँ न्यायप्रेमी जनता उपलब्धिलाई संस्थागत गर्न बाँकी भए पनि आन्दोलनको महत्वपूर्ण उपलब्धि गणतन्त्रलाई बचाउनका लागि सडकमा उत्रिने छन् । त्यसबेला गणतन्त्रविरोधीले नसोचेको परिणाम निस्कने छ । त्यस्तो अवस्था नआओस् । हामीले के बुझ्नु जरुरी छ भने हातको औँलामा क्यान्सर भयो भने औँला काटेर फालिन्छ, पूरै हात काटेर फालिँदैन । हात काटेर फाल्न थालियो भने त्योभन्दा मूर्खता अरू केही हुँदैन । सबै पक्षले यही कुरालाई मनन गरौँ र सबै मिलेर यही व्यवस्थालाई अँगालेर देशलाई सुन्दर बनाऊँ ।