गोरखापत्र समाचारदाता
ललितपुर, चैत १२ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायलाई समृद्ध बनाउनका लागि आफूले पहल गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पार्टीसँग आबद्ध निर्माण व्यवसायीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले निर्माण व्यवसाय ऐन तथा नियमावलीका व्यवस्थामा आवश्यकता अनुसार सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले विश्व अर्थतन्त्रमा समस्या आइरहेको परिस्थितिमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाखभन्दा बढीलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउनु आवश्यक रहेको चर्चा गर्नुभयो ।
उहाँले निर्माण व्यवसायीले भुक्तानी नपाएको, निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरण नभएको जस्ता विषयमा आफ्नो ध्यानाकृष्ट भएको भन्दै समाधानका लागि पहल गर्ने पनि बताउनुभयो ।
सभापति देउवाले व्यावसायिक प्रवर्धनका लागि निर्माण व्यवसायी पनि प्रविधिमैत्री हुनुपर्ने भन्दै योजना तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुँदा समस्या सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले योजना समयमै सम्पन्न गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने र आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र गतिशील बनाउन सबै क्षेत्रले प्रयास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका निर्माण व्यवसायीले नेपालमा मात्र नभएर विदेशमा उत्कृष्ट काम गरेका धेरै उदाहरण छन् । अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सुरुङमार्ग, रेल सेवा, जलविद्युत् क्षेत्रलगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनु पर्छ ।”
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले निर्माण व्यवसायीका समस्या सम्बोधन गरेर देशलाई समुन्नत बनाउन सबैको समन्वय आवश्यक रहेको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्या समाधान गर्न निर्माणसम्बन्धी नियमावली संशोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।