• १६ चैत २०८१, शनिबार

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइँदै

blog

मुढा बनाउँदै अपाङ्गता भएका रामबहादुर लिम्बू ।

बाबुराम कार्की 

वराहक्षेत्र, चैत १२ गते । सामान्य दिनचर्याका लागि थुप्रै अप्ठ्यारा भए पनि ४६ वर्षीय रामबहादुर लिम्बू जीवनोपयोगी सिप सिकेर आत्मर्निभर बन्नुभएको छ । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने उहाँले मुढा बनाउने सिप सिकेर आत्मनिर्भर बन्दै आउनुभएको हो । 

बैसाखीको सहाराले तीन दशक बढी समय गुजारी सक्नुभएका वराहक्षेत्र–८ का लिम्बूको दिनचर्या ‘वराहक्षेत्र अपाङ्गता लघुउद्यम सहकारी’ संस्थामा आबद्ध भएपछि उहाँको दिनचर्यामा परिवर्तन आएको छ । बिहान उठेदेखि बेलुकैसम्म व्यस्त रहने लिम्बूले गाउँमै मुढा बन्न सिकेपछि दैनिक कमाइसमेत गर्दै आउनुभएको छ । उहाँ प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँजस्तै अपाङ्गता भएकाहरू मिलेर खोलेको सहकारीमार्फत अपाङ्गता भएकाले सिप सिकेर दैनिकीलाई व्यस्त मात्रै बनाएका छैनन्, आयआर्जनसमेत गर्दै आएका छन् । 

सुनसरीको वराहक्षेत्र नगरपालिकाभित्र रहेका अपाङ्गता भएकाहरूले सहकारी संस्था स्थापना गरेर आफ्नो दिनचर्यालाई व्यस्त र आयमूलक बनाउँदै आएका हुन् । 

तीन वर्षअघि वराहक्षेत्र नगर सहकारी शाखामा दर्ता भएर स्थापना भएको ‘वराहक्षेत्र अपङ्गता लघु उद्यम सहकारी संस्था’ ले नगर क्षेत्रमा अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर हुन सिपमूलक तालिम दिँदै आएको सहकारीका सचिव निर्मल गिरीले बताउनुभयो । अपाङ्गता भएकाहरूद्वारा सञ्चालित लघुउद्यम सहकारीमा सञ्चालक, कर्मचारी पनि अपाङ्गता भएकाहरूबाटै हुनुहुन्छ । उहाँका अनुसार अपङ्गता भएका तर बसेर काम गर्नसम्म सक्नेहरूलाई सहकारी संस्थाले उद्यमी बनाउन प्रेरित गर्दै आएको छ । उद्यमी बनाउन बाँस, डोरीबाट बस्नका लागि बनाइने मुढा, आलुचिप्स, दालमोठ, भुजिया, अगरबत्ती बनाउने तालिम प्रदान गर्दै आएको छ । 

वराहक्षेत्र नगरपालिकाको पाँच लाख अनुदानबाट सहकारी संस्थामा सदस्यलाई सिपमूलक तालिम दिएपछि बसेर काम गर्न सक्ने व्यक्तिले मुढा बनाउने, भुजिया र आलुचिप्स बनाएर व्यपार गर्दै आएका छन् । लिम्बूले बनाएको मुढा घरबाटै बिक्री हुने गरेको छ । दैनिक एकदेखि दुई वटा मुढा बनाउँदै आउनुभएका रामबहादुरले मासिक १० हजार रुपियाँ कमाउँदै आउनुभएको छ । उहाँले बनाएको मुढा राम्रा हुने हँुदा घरमै ग्राहक आउने गरेको स्थानीय गङ्गा उरावले बताउनुभयो । सहकारीमै आबद्ध भएका वराहक्षेत्र–१ का यज्ञबहादुर भुजेलले दालमेठ बनाएर हाटबजारमा लगेर बिक्री गर्दै आउनुभएको छ ।  

वराहक्षेत्र–२ कै पवित्रा दुलाल आलुबाट बन्ने चिप्स बनाएर र मधुवनका महेश शाहले भुजिया बनाएर बिक्री वितरण गर्दै आउनुभएको छ । अपाङ्गता भए पनि सिप सिक्न र उद्यमी बन्न चाहने सहकारीमा जोडिएका सदस्यका लागि सहकारीले तालिमलगायत बचतका आधारमा ऋण लगानी गर्ने गरेको संस्थाका अध्यक्ष जीवन सापकोटाले बताउनुभयो । 

३५० जना सेयर सदस्य रहेको सहकारीमा एक लाख ५० हजार सेयर पुँजी रहेको उहाँले बताउनुभयो । संस्थामा मासिक रूपमा एक सय बचतसमेत उठाउने गरिएको छ । 

सहकारी सिप सिक्ने र आयआर्जन गर्ने मात्र नभई एकअर्काको पीडा बाँड्ने र मन बुझाउने थलो बन्दै गएको अध्यक्ष सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिनामा एक पटक साथीहरूलाई भेट्दा पनि मन खुसी हुन्छ । आफू जस्तै अपङ्गता भएकाहरू देख्दा मन भुलाउने र एकअर्काको दुःख सुखका कुरा बाँड्ने सहकारी माध्यम बनेको छ ।”

सहकारीले बाख्रा, सुँगुर, कुखुरा र साना पसल सञ्चालनको लागिसमेत ऋण लगानी गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार ३० जनाभन्दा बढीले बचतका आधारमा सदस्यले सहुलियत ब्यजदरमा ऋण लगेर व्यवसाय गर्दै आउनुभएको छ । संस्थाले सदस्यलाई पहिलो पटक २० हजार, दोस्रो पटक ३० हजार र तेस्रो पटक ४० हजार ऋण लगानी गर्दै आएको छ । 

सरकारले अपाङ्गताको किसिम हेरेर भत्ता दिँदै आए पनि त्यसमै निर्भर हुन नसक्ने र आत्मनिर्भर बन्न लघुउद्यम सहकारीले प्रोत्साहन गर्ने गरेको सहकारीमा जोडिएका रामबहादुर बताउनुहुन्छ । नेपाल सरकारले अपाङ्गताको किसिम अनुसार परिचय वितरण गर्दै आएको छ । परिचयपत्रलाई चार किसिममा विभाजन गरी रातो, नीलो, पहेँलो र सेतो कार्डका आधारमा सुविधा दिँदै आएको छ । 

रातो कार्ड हुने अपाङ्गले चार हजार, नीलो कार्ड भएका अपाङ्गले दुई हजार १८० रुपियाँ त्रैमासिक रूपमा पाउने गरेका छन् । वराहक्षेत्र नगरले पहेँलो कार्ड भएकालाई गत वर्षदेखि मासिक पाँच सय दिने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । वराहक्षेत्र नगरमा मात्रै एक हजार पाँच सय बढी अपाङ्गता भएका व्यक्ति रहेको बताइएको छ ।