• १३ चैत २०८१, बुधबार

बिजुली बल्दा चेपाङ वस्तीमा खुसी

blog

७० वर्षीय तुलकुमारी चेपाङको घरको विद्युतको मिटर ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गरिर्दै । तस्बिर : गोरखापत्र

अनिल पराजुली

हेटौँडा, चैत ११ गते । टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका चेपाङ समुदाय गाउँमा बिजुली बत्ती बल्दा दङ्ग परेका छन् । 

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङलगायत दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेपछि उहाँहरू दङ्ग पर्नुभएको हो । 

नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको पूर्ण वडा विद्युतियकरण घोषणा तथा उद्घाटनपछि यहाँका स्थानीय गाउँ उज्यालो भएपछि खुसी हुनुभएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक समारोहबिच राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर खैराङका बस्तीलाई झलमल्ल बनाउनुभएको छ । उहाँले राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । 

वृद्ध उमेरमा गाउँमा बिजुलीबाट बत्ती बलेको देख्न पाउँदा तुलकुमारी निकै खुसी हुनुभएको थियो । टुकी र दियालोमा जीवन व्यतीत गर्नुभएका उहाँ घरमा बिजुली बत्ती बल्दा निकै हर्षित हुनुभयो । 

उहाँजस्तै गाउँका टेकबहादुर थिङ, नेमबहादुर लामा र वीर मान थिङको अनुहारमा पनि छुट्टै चमक थियो । बिजुलीबाट बत्ती बलेको देख्न पाउँदा वृद्धाहरू निकै खुसी हुनुभएको थियो ।

मकवानपुरकै दुर्गम खैराङमा २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो ।

जब प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिएपछि खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युत्को पहुँच पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३०३ वटा विद्युत् मिटर उक्त वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गर्नुभएको थियो । २०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसङ्ख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । ती सबै घरमा विद्युत् पहुँच पुगेको छ । 

दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्याउने घिसिङलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । यहाँका जेयष्ठ नागरिक कृष्णबहादुर प्रजा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष वनस्तम थिङ लगायतकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गर्नुभएको हो । 


दुर्गम गाउँका चेपाङको छाप्रो-छाप्रोमा विद्युत् पुर्याउन पाउँदा आफूलाई खुसी लागेको कार्यकारी निर्देशक घिसिङको भनाई छ । बिद्युत् सम्बन्धमा पालिकाले राखेको माग र समस्या समाधान हुने प्रतिबद्धता उहाँले जनाउनुभयो । उहाँले बत्ती नपुगेको ठाउँमा बत्ती पु¥याउने, काठका पोल भएका ठाउँमा विस्थापित गर्ने र नाङ्गा तार विस्थापित गर्ने कार्य क्रमिक रूपमा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकामा पूर्ण रूपमा बिद्युतीयकरण चालु आवको बर्षातयामभन्दा अगाडि गर्न बिद्युत् प्राधिकरणका कर्मचारीलाई पनि उहाँले निर्देशन दिनुभयो । आवश्यक बजेटको व्यवस्थापन र टेन्डरको काम भइसकेको जानकारी दिर्दै थप बजेट आवश्यक परे त्यो पनि बिद्युत् प्राधिकरणले व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

पहिलो चरणमा गाउँपालिकालाई शतप्रतिशत विद्युतीयकरण गर्नका लागि ३० करोड बजेट छुट्याएर टेन्डर गरेको जानकारी दिर्दै उहाँले बजेट स्वीकृत गरेर थप ८ करोडको टेन्डर गरेको बताउनुभयो ।

विकट गाउँमा पुगेर घिसिङले बत्तिको उज्यालो क्षणिक हुनसक्ने भएकाले चेपाङ र तामाङ बस्तीमा शिक्षाको उज्यालो पु¥याउन पनि आग्रह गर्नुभयो । ‘शिक्षा महत्त्वपूर्ण सम्पत्ति हो, प्राविधिक र व्यावसायिक शिक्षामा अगाडि बढ्नुपर्छ, शिक्षाको उज्यालोले नै समाज र देश परिवर्तन गर्न सक्छ,’ उहाँले भन्नुभयो ।

संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, ओम घलान, ३ नं. वडाध्यक्ष उत्तम वाइबा लगायतकाले बिद्युतिकरणका लागि आवश्यक सहयोग गरेकोमा नेपाल बिद्युत् प्राधिकरणलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो ।