• १६ चैत २०८१, शनिबार

संस्थान सेवाबाट बाँसकोटा र देवकोटाको बिदाइ

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी सेवा निवृत्त प्रशासन अधिकृत पुरुषोत्तम बाँसकोटा र प्रेस शाखामा कार्यरत केशवप्रसाद सापकोटाको बिदाइ कार्यक्रममा । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, चैत ११ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’ मा कार्यरत प्रशासन अधिकृत पुरुषोत्तम बाँसकोटा र उत्पादन विभागअन्तर्गत प्रेस शाखामा कार्यरत केशवप्रसाद सापकोटालाई बिदाइ गरिएको छ । 

उमेर हद ५८ वर्ष पूरा भएका कारण बाँसकोटा र  सापकोटा संस्थान सेवाबाट बिदाइ हुनुभएको हो। 

सोमबार संस्थानमा आयोजित कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेर बिदाइ गर्नुभयो । 

प्रशासन अधिकृत बाँसकोटाले संस्थान सेवामा ३६ वर्ष ६ महिना २८ दिन र प्रेस शाखामा कार्यरत सापकोटाले ३० वर्ष १० महिना २५ दिन सेवा प्रदान गर्नुभएको छ । 

बिदाइ कार्यक्रममा महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘यति लामो समयसम्म संस्थानको सेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्छु र तपाईहरुको भावी जीवन स्वस्थ र सुखमय रहोस भनी कामना गर्दछु ।’’

दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले प्रशासन अधिकृत बाँसकोटासँग राइजिङ नेपालका संस्थापक प्रधान सम्पादक वरुण शमशेर राणादेखि हालसम्मका १५ जना प्रधान सम्पादकसँग रहेर काम गरेको संस्थागत स्मरण रहेको छ भन्नुभयो । 


उत्पादन विभागका प्रमुख ओमप्रकाश भुसालले सेवानिवृत्त देवकोटा भरपर्दो र इमान्दार कर्मचारी भएको बताउनु भयो । 

बिदाइ कार्यक्रममा गोरखापत्र दैनिक र दि राइजिङ नेपालका प्रबन्ध सम्पादकद्वय रामप्रसाद आचार्य र विष्णुप्रसाद गौतम, सामान्य प्रशासन तथा सूचना प्रविधि विभाग प्रमुख रेखादेवी श्रेष्ठ, योजना विभाग प्रमुख भगीरथ बस्नेतलगायत सहभागी हुनुहुन्थ्यो । 

सहभागीहरुले बाँसकोटा र देवकोटाको भावी जीवन स्वस्थ र समृद्ध रहोस भनी कामना गर्नुभयो । यसैगरी, बाँसकोटा र देवकोटाले संस्थानले निरन्तर प्रगति गरिरहेको र अब पनि सधैँ उन्नति भएको देख्न चाहेको सुनाउनु भयो ।