काठमाडाैं, चैत ११ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिनुभएको हो ।
उहाँले विधेयकलाई विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको समेत उल्लेख गर्नुभयाे ।
यस विषयको समाधान सहित विधेयक अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, "हामीले यो विश्वविद्यालयलाई अहिलेसम्मका विश्वविद्यालय र अब बन्ने विश्वविद्यालयमा समेत एउटा मानक स्थापित गर्नसकौं । अहिले विश्वविद्यालयभित्र तीनवटा समस्या छन् । एउटा क्यालेण्डरको कुरा, अर्को त्यहाँभित्रको जनशक्ति व्यवस्थापनको कुरा र लिडरसिप कसले लिने र विश्वविद्यालयको जिम्मेवार को हुने भन्ने कुरा । अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा हामी कसरि जाने भन्ने विषयमा हामी जानैपर्छ । यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु ।"
मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरुको अधिकारसम्बन्धी समेत स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।