अमरराज नहर्की
तनहुँ, चैत ११ गते । पढेलेखेकाले जागिर नै खानुपर्छ भन्ने सोचलाई चुनौती दिँदै तनहुँका एक युवक कृषि पेशामा रमाएका छन् । भानु नगरपालिका–१२ घलेछापका कुशलचन्द्र अधिकारी पढाई पूरा गरेर गाउँमै व्यवसायिक कृषि पेशा गरेर नाम र दाम दुबै कमाउन सफल हुनुहुन्छ । कृषि पेशाबाट उहाँले मासिक तीन लाखभन्दा बढी आम्दानी गर्नुका साथै विभिन्न मानसम्मान पुरस्कार समेत पाउनुभएको छ । अधिकारीले २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिरहनु भएको छ ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका कुशलले आफ्नो ६५ रोपनी र ६० हजार वार्षिक भाडा तिर्ने गरी दुई सय रोपनी क्षेत्रफलमा फार्म सञ्चालन गर्नुभएको छ । उहाँले उन्तत जातका गाई, भैंसी, बाख्रा र माछापालन गरिरहनुभएको छ । यसका साथै कडकनाथ कुखुरा, कालिज, मौरीपालन गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा ३० वर्ष बहराइन बस्नु भएका बुवा राजेन्द्रको प्रेरणाले कृषि पेशामा लागेको उहाँले बताउनुभयो ।
अधिकारीले भन्नुभयो, “विदेशमा गरिएको दुःख स्वदेशमा गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ भनेर बुबाले प्रोत्साहन गर्नुभएकाले कृषि पेशा अपनाएको हुँ ।’’ उहाँको गोठमा २५ वटा गाईभैंसीमध्ये १२ वटा दुहुना मुर्रा जातका भैंसी र चार वटा जर्सी रहेको अधिकारीले जानकारी दिनुभयो ।
दैनिक ८० लिटर दुध उत्पादन गर्दै आएको र ४० लिटर दुध बिक्री गरिन्छ भने बाँकी ४० लिटर दुधबाट पनिर बनाएर बिक्री गर्ने गरेको अधिकारीले बताउनुभयो । भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी गण मनकामना भानुले दुध तथा दुधजन्य पद्धार्थ खरिद गर्ने गरेकोले बिक्रीका लागि सहज भएको अधिकारी बताउनुभयो ।
उत्पादित पनिर प्रतिकिलो आठ सय रुपियाँ बिक्री गर्दै आएको अधिकारीले बताउनुभयो । यस्तै, घिउ र मह मानाको एक हजारमा बिक्री हुने गरेको छ । मासिक रुपमा १२ लाखको कृषि उत्पादन बिक्री गर्ने गरेको र मासिक तीन लाख रुपियाँ बचत हुने गरेको अधिकारीले जानकारी दिनुभयो ।
उहाँले ४० घार मौरी पाल्नुभएको छ । बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत बाख्रासम्बन्धी र व्यवसायिक किट विकास तथा मौरी विकास केन्द्र ललितपुरबाट मौरीसम्बन्धी तालिम लिएर हेरचाह र दानापानीबारे सिकेकाले व्यवसाय सञ्चालन गरेको अधिकारीले बताउनुभयो । उहाँले ४० वटा वोयर बाख्रा पाल्नुभएको छ । पशु आहारका लागि एक सय ५० रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो, किम्बु, टाँकी, निवारो, रायोखनिया लगायतका घाँस लगाएको अधिकारीले बताउनुभयो ।
कुशलले रैथाने प्रजातिका कुखुरापालन गरिहनुभएको छ । स्थानीय बजारमा कुखुराको माग धेरै भएकाले बिक्रीका लागि समस्या नपरेको उहाँले बताउनुभयो । फार्ममा चार जना रोजगारी पाएको उहाँले बताउनुभयो । अधिकारीले युवा तथा खेलकुद मन्त्रालयबाट ‘राष्ट्रिय युवा प्रतिभाको सम्मान–२०७८’, गत वर्ष गण्डकी प्रदेशकै उत्कृष्ट कृषक पुरस्कार, भानु नगरपालिकाबाट उत्कृष्ट कृषक पुरस्कार–२०८० बाट सम्मानित हुुनु भएको छ । कृषि पेसाको सम्मानले काममा ऊर्जा थपिएको उनको भनाइ छ ।
कृषि क्षेत्रमा लाग्ने युवालाई सरकारले व्यवसायमा टिकाउन उत्पादनमा आधारित अनुदान सीप सिकाउने र गोठमै निशुल्क औषधी र उपचारको व्यवस्था गर्नु पर्ने सुझाव अधिकारी दिनुहुन्छ ।