जीवछ यादव
लहान,चैत १० गते । कञ्चनपुर–कमला ८६.८३ किलोमिटर चारलेन सडक निर्माणकार्यअन्तर्गत सप्तरीको कुशहादेखि कमलासम्मको पश्चमी खण्डसडक निर्माणकार्य धमाधम भइरहेको छ । कञ्चनपुर–कमला पश्चिमी खण्ड मिर्चैयाका सूचना अधिकारी इन्जििनियर सरोज अधिकारीका अनुसार लहान र मिर्चैयामा निर्माण हुने ओभरफ्लाईको कार्य अघि बढाउने कार्यलाई चाइना कम्पनीका कन्ट्राक्टर ठेक्केदारहरुले निर्माण कार्यलाई तीव्रता दिएका छन् । निर्माण कार्य तीव्र गतिमा अघि बढाउन नदीजन्य गिटी, बालुवा र साइड खाली गराउने कार्य जति सहज र चाँडो हुन्छ, त्यति नै तीव्र गतिमा काम हुने ठेकेदारको भनाइ छ ।
निर्धारित समय सीमा सकिएपछि आगामी पुस मसान्तसम्म समय थपिएपछि कार्यले गति लिएको हो ।
लहानको सहरी क्षेत्रमा खानेपानीको पाइप र साइड खाली गरिने कार्य नभइरहेकाले तत्कालै फेरि समस्या उत्पन्न भएको बताउनुहुँदै सूचना अधिकारी इन्जििनियर अधिकारीले यसबारे लहान नगरपालिकाका सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लहानको मुख्य चोकमा रहेको मधेश आन्दोलनको सहिद रमेश महतो, विजय सहनी, प्रमोद सदाय र बेचन यादव र अनिस अन्सारीको शालिक व्यवस्थापनको कार्य सबैभन्दा ठुलो चुनौती देखिएको छ ।’’
आगामी पुस मसान्तसम्ममा कार्य सम्पन्न गर्न मिर्चैया र लहानको ओभरपास निर्माण र नाला निर्माण कार्य गर्न चाहिने गिटी बालुवा उत्खनन गर्न नदिए कहाँबाट ल्याएर सडक निर्माण गरिने भन्ने गुनासोलाई ध्यानमा राखेर कामगर्ने उपयुक्त वातावरण बनाइ दिए सडक निर्माण कार्य वर्षात आउनुभन्दा अगावै अझै तीव्र गतिमा अघि बढ्ने इन्जिनियर अधिकारीले प्रष्ट्याउनुभयो ।
उहाँको अनुसार कुशहा कम्ला पश्चिमी खण्डअन्तर्गत ४७.४१ किलोमिटरमा अहिलेसम्म लगभग ५८ प्रतिशत काम सम्पन्न भइसकेको छ । लहान, गोलबजार, मिर्चैया र बन्दीपुरको सहरी क्षेत्रबाट क्रमशः १३५, १०९, ४० र ५६ गरी ३४० वटा विजुलीपोल हटाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
लहान नगरपालिकामा सर्वदलीय बैठक बसेर हाल सहिद पार्क रहेको स्थानदेखि दक्षिण तरकारी बजारको चोकमा सहिद पार्क राख्ने निर्णय भए लगत्तै हनुमानको मूर्ति राखेपछि समस्या भएको लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘निर्णय भएको स्थानमा हनुमानको मूर्ति स्थापना गर्दा लहान नगरपालिकाले रोक्नुपर्दथ्यो, तर नगरप्रमुख महेशप्रसाद चौधरीले चासो राख्नुभएन । अहिले लहान नगरपालिकाको १४, १५ र १८ नम्बरबाट बिना सम्झौता बालुवा गिटी उठाउने कार्य भइरहेको छ । म आफैँले चाइना रेलवेको टिप्पर रोकेपछि केहि दिन अघि ५२ लाख ९७ हजार राजस्व बुझाएको छ । पुस १० गते यता अहिलेपनि बिना सम्झौता मापदण्ड विपरित सर्रे खुटी खोलामा उत्खन्न जारी रहेको छ ।’’