रमेश पौडेल
लुजाउ (चीन), चैत १० गते । हावापानी, मौसम र प्राकृतिक वातावरणबिच समानता भएको चीनको लुजाउ र पोखरा नगरबिच मितेरी सम्बन्ध स्थापित हुने भएको छ ।
वर्ष २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको पोखरा महानगरको प्रमुख लक्ष्य २० लाख पर्यटक भित्र्याउने रहेको छ । यसका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यसहित पोख्रेली व्यवसायी पोखराबाट दुई देशीय व्यावसायिक सम्बन्ध स्थापित गर्न चीनका विभिन्न सहरमा पुगेका छन् । नगरप्रमुख आचार्यसहितको भ्रमण टोलीलाई लुजाउ सहरले स्वागत गरी आफ्नो सहरका विशेष क्षेत्रको भ्रमण गराएको छ । दुई सहरबिच आपसी सहयोग आदानप्रदानबारे दुई पक्षबिच छलफल पनि भएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य र लुजाउ सहरका प्रमुख जिआन तथा चिनियाँ कम्युनिस्ट पार्टी लुजाउका उपसचिव यु जिआनले भेटका क्रममा पर्यटन र संस्कृति, अर्थतन्त्र, प्राचीन चिनियाँ औषधी, शिक्षा र खेलकुद जस्ता क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । छलफलका क्रममा लुजाउका प्रमुखले पोखरादेखि छेङ्दु उडानलाई नियमित बनाउन आफ्नो देशको सरकारसँग पैरवी गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
पोखरा महानगरका प्रमुख आचार्यले गत वर्ष नै लुजाउ र पोखराबिच मितेरी सम्बन्धको औपचारिक घोषणा गर्ने तयारी गरिएकोमा कागजी प्रक्रिया नपुगेका कारण स्थगन भएको जानकारी दिनुभयो । दुई सहरले आपसमा आफूलाई मितको अनौपचारिक दर्जा दिइसकेको उहाँको भनाइ थियो ।
उहाँले पोखरा र नेपालका पर्यटकीय गन्तव्यबारे चिनियाँ मिडियामार्फत प्रचार गराइदिन आग्रह गर्दै दुई सहरबिचको सम्बन्ध अझै प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । मितेरी गाउँका धेरैभन्दा धेरै पर्यटकलाई पोखरामा स्वागतका लागि आतुर रहेको उहाँले बताउनुभयो । लुजाउ विश्वविद्यालयमा नेपाली विद्यार्थीको सङ्ख्या बढाइदिन पनि प्रमुख आचार्यले अनुरोध गर्नुभयो । लुजाउका प्रमुख जिआनले पोखराबारे धेरै सुने पनि पुग्न नपाएको भन्दै छिटै पोखरा भ्रमण गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “पोखरा राम्रो र आत्मीय छ भनेर मैले सुनेको छु, मलाई पनि पोखरा आउन मन छ ।” उहाँले नगरपालिकाले गरेका विकास, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रबारे जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा दुई सहरका प्रमुखले नेपाल र चीनको दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र पोखराले पनि पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेकोमा खुसीयाली साटासाट गर्नुभयो । लुजाउ ५० लाखभन्दा बढी जनसङ्ख्या भएको सहर हो ।
चीनकै उत्कृष्ट पर्यटन सहरका रूपमा स्थापित लुजाउले विश्वका दुई वटा अन्तर्राष्ट्रिय सहरमा भगिनी सम्बन्ध कायम गरेको छ भने पोखराको भने १२ वटा सहरसँग भगिनी सम्बन्ध छ । तीमध्ये आठ वटा सहर चीनकै छन् ।