कपिलवस्तु समाचारदाता
कपिलवस्तु, चैत १० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई जिल्ला सदरमुकाम तौलिहवासँग जोड्ने टिक्कर बुड्ढी–बिजगौरी सडकखण्ड जीर्ण भएको छ ।
सडकखण्ड पुनर्निर्माण नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । करिब दुई दशकअघि १० करोड रुपियाँ लागतमा निर्माण गरिएको करिब २२ किलोमिटर लामो सडक बिग्रिएर खाल्डाखुल्डीले भरिएको छ ।
ठाउँ ठाउँमा कालोपत्रै उप्किँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बुद्धभूमि नगरपालिकाले पछिल्ला तीन वर्षमा ३.८ किलोमिटर मात्र सडक पिच गरेको छ । वडा नम्बर १ को टिक्कर क्षेत्रको नौ मिटर फराकिलो सडक असफाल्ट प्रविधिबाट स्तरोन्नति गरिए पनि बाँकी खण्ड उपेक्षित बनेको स्थानीयको गुनासो छ ।
वडा नम्बर ३, घनचौरा हुँदै बुड्ढी–हनुमान चोक भएर तौलिहवा जाने सडकका बिच बिचमा गहिरा खाल्डा परेका छन् । जसका कारण साना सवारीसाधन चलाउन कठिन भएको छ । वर्षायाममा खाल्टोमा पानी भरिने र सडक हिलाम्मे हुने समस्या भएको स्थानीय समाजसेवी मीनराज बेलबासेले बताउनुभयो ।
बेलबासेले भन्नुभयो, “यो सडकमा बल्लतल्ल हिँड्न सक्ने अवस्था छ । हामीले पटक पटक नगरपालिकालाई अनुरोध गरेका छौँ तर सुनुवाइ भएको छैन । बिरामी बोकेर हिँड्न, सामग्री ढुवानी गर्न सकस परेको छ ।” स्थानीयले समेत मोटरसाइकल र साइकलमा यात्रा गर्दा सडकबाट उडेको धुलोले निकै समस्या बनाएको बताउँछन् । सडक जीर्ण हुँदा व्यापारमा समेत असर परेको स्थानीय व्यापारीको गुनासो छ ।
सडक निर्माणमा नगरपालिकाले हालसम्म १० करोड ५६ लाख रुपियाँ लगानी गरिसकेको छ । चालु आर्थिक वर्षमा थप तीन करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।
बुद्धभूमि–४ का वडाध्यक्ष सुशीलकुमार चौधरीले यो रकम पर्याप्त नरहेको बताउँदै प्रदेश र सङ्घीय सरकारले थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।