ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १० गते । बेनीदेखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब दश करोड रुपियाँ बजेटबाट अस्पताल भवन निर्माण भएको हो ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार तीन वर्ष अघि सुविधासम्पन्न अस्पताल भवन निर्माण थालिएको थियो । अस्पताल भवन निर्माण भएसँगै मल्लाजवासीले गाउँमै विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा पाउने भएका छन् ।
अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार २३ गते दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी जि–डब्लु सी–बिएम–आइएस जेभी काठमाडौंसँग नौ करोड ७३ लाख ६४ हजार आठ सय १३ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । जग्गा प्राप्तिमा ढिलाइ र समयमा बजेट प्राप्त नभएपछि २०८१ को चैत मसान्तसम्म दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्यादभित्र भवन निर्माण सम्पन्न भएको छ ।
अपाङ्गमैत्री दश शय्या क्षमताको भूकम्प प्रतिरोधी तीन तल्ला भवन निर्माण भएको पालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो । चैत मसान्तसम्म ठेक्काको म्याद भए पनि फागुन मसान्तमा सम्पूर्ण काम सकिएको पालिकाका इन्जिनियर बानियाँले बताउनुभयो ।
तीन वटा ब्लक रहेको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, प्रशुती कक्ष, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष गरेर ३० वटा कोठा रहेको उहाँले जानकारी दिनुभयो । भवन निर्मााण सकेर भवनभित्र पानी, विद्युत् जडान, पर्खाल, पार्किङ र प्रवेशद्वारा निर्माण सकेर भवन हस्तान्तरण गर्ने निर्माण व्यवसायीका प्रतिनिधि रामेश्वर ढकालले बताउनुभयो ।
जनशक्ति, मेडिकल उपकरण लगायत अन्य स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर गाउँपालिकाले चाँडै अस्पताल सञ्चालनमा ल्याउने जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
अस्पताल सञ्चालनमा आएपछि वडा नम्बर १ बाँसखर्क, माँझफाँटका २, ३ र ४ नम्बर वडा, ५ नम्बर लेखफाँट, ६ सालिजा र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले समेत स्वास्थ्य सेवा लिन सहज हुने जलजला गाउँपालिका ३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि पनि म्याग्दीको सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा पुग्नुपर्ने बाध्यता हट्नेछ ।’’